पाथीभरा गोल्डकप चौंथो संस्करण साउन ३० देखि

प्रयास लिम्बू
ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङमा लाखेजात्राको अवसरमा आयोजना गरिने पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको चौंथो संस्करण आउँदो साउन ३० गतेबाट सञ्चालन हुने भएको छ । पाथीभरा गोल्डकपको चांैथो संस्करण साउन ३० देखि भदौ ६ गतेसम्म सञ्चालन हुने लाखेजात्रा खेल सञ्चालन समितिले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

यस वर्षको प्रतियोगितामा ताप्लेजुङका दुईसहित १० टोली (टिम) को सहभागिता रहने समितिका अध्यक्ष नारायण थापाले जानकारी दिनुभयो । लाखेजात्रा खेल सञ्चालन समितिले पाथीभरा गोल्ड कपका लागि ४० लाख ५० हजार रुपियाँ बराबरको रकम खर्च हुने पनि अनुमान गरेको छ । गोल्डकपमा विजेताले दुई सय ४० तोला चाँदीमा तीन तोला सुनजडित ट्रफीसहित तीन लाख ११ हजार रुपियाँ नगद पुरस्कारर पाउने छ ।

यस्तै उपविजेताले एक लाख ५१ हजार रुपियाँ नगद पुरस्कार पाउने छ । यस वर्ष फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडहर्ष क्लब इलाम, गोर्खा स्पोर्टिङ क्लब दमक, रेडस्टार क्लब झापा, डाँगीहाट फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, एलाभेन एरोज क्लब दुहवी सुनसरी, र रोयल फुटबल क्लब सिलगुढी भारत खेलमा सहभागी हुने पनि समितिले जानकारी दिएको छ । रोयल फुटबल क्लब सिलगुढीको निश्चित भइनसकेकाले उसको अनुपस्थिति रहेमा चर्च ब्वाइज क्लब काठमाडौंलाई प्रतियोगितामा सहभागिता गराउने तयारी गरिएको पनि समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्