१९ वर्षपछि हत्याका आरोपी पक्राउ

सप्तरी साउन १९ / सप्तरी जिल्लाको उत्तर पश्चिमवर्ती सुरुङ्गा नगरपालिका १ साविक पश्चिम पिप्रा गाविसकी ३५ वर्षीया महिलाको हत्याको आरोपमा उदयपुर प्रहरीले १९ वर्षपछि एक जनालाई पक्राउ गरेका छन् । २०५७ मंसिर २१ गते उदयपुरको त्रियुगा नगरपालिका ९ खारखोलास्थित जङ्गलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट हत्या गरी फरार रहेकामध्ये पश्चिम पिप्राका ६० वर्षीय प्रेमबहादुर खुलाल मगरलाई शुक्रबार राति घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सप्तरीको भेडियास्थित इलाका प्रहरी कार्यालय र उदयपुर प्रहरीको समन्वयमा मगरलाई घरबाट नै पक्राउ गरी उदयपुर बुझाइएको छ। पश्चिम पिप्राका मिलनको बाबु भनिने खडगबहादुर मगरसहित प्रेमबहादुर समेतले शिकार खेल्ने क्रममा भरुवा बन्दुकले जङ्गलमा घाँस काट्न गएकी पश्चिम पिप्रा गाउँका धनवीर यादवकी श्रीमती ३५ वर्षीया किसनवती यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भरुवा बन्दुकले मृत्यु भएकी यादवलाई जङ्गलमा घटनास्थल नजिकै जलाएर फरार रहेकामध्ये एक जना पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्