मिस्टर वर्ल्ड २०१९ सहभागी हुँदै अक्षय प्रकाशित मिति : १९ श्रावण २०७६, आईतवार १६:२८ काठमाडौं साउन १९ / मिस्टर वर्ल्ड २०१९’मा नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने भएका छन् । ‘मिस्टर वर्ल्ड २०१९ फिलिपिन्सको मनिलामा २३ अगस्टमा आयोजना हुने प्रतिस्पर्धामा अक्षय रायमाझी नेपाली कला, संस्कृतिसहित सहभागी हुन लागेका हुन् । रायमाझी ‘मिस्टर नेपाल २०१७ का विजेता पनि हुन् । मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले बिहीबार कार्यक्रम गरी अक्षयको ‘मिस्टर वर्ल्ड २०१९’को सहभागिताबारे जानकारी गराएका थिए । विश्वका एक सयभन्दा बढी राष्ट्रका युवाको सहभागिता रहने प्रतियोगितामा अक्षय नेपालबाट एक्लो सहभागी हुन् । नेपाली कला, संस्कृति झल्कने नृत्यसहित भिजिट नेपाल २०२० को सन्देशसमेत त्यहाँ दिने रायमाझीले बताएका छन् । ‘मैले नेपाल र नेपालीको विशेषता झल्कने भिडियोसमेत तयार गरेको छु । जुन ‘मिस्टर वल्ड’को मञ्चमा प्रस्तुत गरिनेछ,’ रायमाझीले भने ‘भिडियोमा मैले गरेको समाजसेवादेखि विश्वमा नेपाल चिनाउने सगरमाथा, गौतमबुद्धलगायत सामग्री समेटेको छु ।’ भिडियोले नेपाल बुझ्न विश्वका सहभागीलाई सजिलो हुने उनले जिकिर समेत गरेका छन् । अक्षय ‘मिस्टर वर्ल्ड ’मा नेपालको प्रतिनिधित्व गर्ने दोस्रो व्यक्ति हुन् । यस अगाडि मिस्टर वर्ल्ड २०१६ मा गणेश अग्रवालले सहभागिता जनाएका थिए ।