आजदेखि झापामा राष्ट्रिय परिचयपत्र वितरण

झापा साउन १९ / प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले असार ९ गतेदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु गरेको झन्डै ४० दिनपछि परिचयपत्र वितरण थालेको हो।

भद्रपुरस्थित राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेललाई उनको राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्दै वितरण कार्यको शुभारम्भ गरेको हो।

नागरिकता लिएका हरेक नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने प्रदान गरिनेछ, प्रजिअ दाहालले भने, ‘नागरिकको सुविधाका लागि प्रशासन कार्यालयले सबै स्थानीय तहरूमा टोली खटाउँछौं। सरकारी, गैरसरकारी निकाय, बैंकहरू, टेलिकम, व्यावसायिक सेवा प्रदायक संस्थाहरूले प्रयोग गर्ने रजिष्ट्रेसन फारम र फारमहरू डिजिटाइज्ड गर्न यसले मद्दत पुुर्‍याउनुका साथै दोहोरो सेवा सुविधा लिने, भूठा विवरण पेस गर्ने, सेवा सुविधाको दुरुपयोग गर्ने जस्ता कार्य नियन्त्रित भई लक्षित वर्ग समुदाय एवम आम नागरिकले राज्य प्रदत्त सुविधाबाट प्रत्यक्ष लाभ लिन सक्ने सरकारको नीति रहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ।

एक व्यक्ति एक परिचयपत्र नम्बर प्रणालीमा नागरिकता, पासपोर्ट, सवारी चालक लाइसेन्स आदि एकीकृत गर्ने कार्यको सुरुवात गरिने सरकारको योजनाअन्तर्गत झापामा हालसम्म १४५९ जनाले दर्ता गराएको जनाइएको छ। त्यसमध्ये ९९५ जनाको परिचयपत्र आइसकेको र त्यो परिचयपत्र आजदेखि वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए। उनका अनुसार यही आर्थिक वर्षभित्र जिल्लाको १५ वटै स्थानीय तहमा ३२ वटा व्यवस्थापन कक्षको स्थापना गरी राष्ट्रिय परिचयपत्र विवरण दर्ता र वितरण सुरु गर्ने योजना छ ।

त्यस्तै सोही वितरण कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, सेवाग्राही प्रहिल घिमिरे र पत्रकार लक्ष्मी काफ्लेलाई समेत परिचयपत्र हस्तान्तरण गरिएको थियो। प्रदेश १ को ताप्लेजुङबाट सुरु भएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रमलाई गृह मन्त्रालयले पाँच वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति अनुरूप अघिल्लो वर्षदेखि झापासहित १५ जिल्लामा यो कार्यक्रमको विस्तार गरेको हो।


प्रतिक्रिया दिनुहोस्