नेपाल वायुसेवा निगमको शानलाई जहाजकै उचाईको बराबर पुर्याउँछौं :मन्त्री भट्टराई

काठमाडौं साउन २१ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को शानलाई जहाजकै उचाईको बराबर पुर्याउने गरी सुधारको काम गरिने बताएको छ ।

राष्ट्रिय पर्यटन पत्रकार सङ्घका प्रतिनिधिमण्डलसँग मंगलबार सिंहदरबारमा भएको छलफलमा मन्त्री भट्टराईले राष्ट्रिय ध्वजाबाहक पर्यटक आगमनसँग प्रत्यक्ष जोडिएको विषय भन्दै निगमको अन्योलग्रस्त अवस्थालाई सुधार गरी जहाजको उचाईझैँ बराबर बनाउने विश्वास व्यक्त गरेका थिए ।

निगमको जहाज जुन हाइट ३८ हजार फिट उचाई बाट उड्छ, निगमको सानलाई त्यही उचाईमा पुर्याउनु पर्नेछ उनले भने, त्यसो भयो भनेमात्र संसारले देख्नेछ, २८ हजार उचाई त नेपालमै उड्ने छँदैछन् नि। पर्यटनमन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन प्रचारप्रसार र पूर्वाधार विकास दुवै कार्यलाई सँगसँगै अघि बढाइने उल्लेख गरेका थिए।

मन्त्रालयका काम कारवाहीलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर काम अघि बढाउने उल्लेख गर्दै मन्त्री भट्टराईले आफू मन्त्रालयमा रहुञ्जेल सम्पूर्ण तागत र इमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता समेत जनाए। पर्यटन क्षेत्रमा धेरै ठूला कुरा नगरिकन सामान्य सुधार गर्ने हो भने पनि परिणाम निस्कने उल्लेख गर्दै मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार, निमार्णाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल र बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रभावकारी बनाइने जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्