खानेपानीको स्रोत र मुहान संरक्षणमा बढी जोड दिन विधेयक ल्याएका छौं :मन्त्री मगर

काठमाडौं साउन २३ / खानेपानी मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानीको पहुँचपुर्याउन मुहान र स्रोत संरक्षणमा बढी जोड दिएर खानेपानी विधेयक ल्याईएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा खानेपानी तथा सरसफाई विधेयकको विषयमा आफ्नो भनाई राख्दै खानेपानी मन्त्री मगरले मुहान संरक्षणलाई बढी जोड दिईएको स्पष्ट पार्नुभयो ।

‘डिप बोरिङ गरेर जमिन मुनिबाट पानी निकाल्ने प्रवृत्ति बढेकाले मुहानहरु सुक्दै जान थालेका छन् ।’ मन्त्री मगरले संसदमा भन्नुभयो, ‘हामीले मुहानहरुको संरक्षण गर्ने कार्यलाई विधेयकमा बढी जोड दिएका छौं । यो विधेयकमा मुहानको वरिपरी प्रदुषित गर्नेलाई नियन्त्रण गर्ने प्रावधान पनि राखेका छौं । स्रोत र मुहानलाई सफा राख्ने विषयलाई पनि समेटेका छौं ।’

मन्त्री मगरले भन्नुभयो, ‘खानेपानीको समस्या विकराल छ । विश्वको दोस्रो धनी राष्ट्र हुँदाहुँदै पनि जनता काकाकुल छन् । महिलाहरुले घण्टौं घण्टा लगाएर पानी ल्याउनु पर्ने स्थिति छ । पहाडमा मात्रै होइन तराईमा पनि खानेपानीको समस्या व्याप्त छ । जनताले तराईमा प्रशोधित पानी खान पाएका छैनन् । तराईको आर्सेनिक समस्या हल गर्न आर्सेनिक मुक्त पानी खुवाउन प्रदेश सरकारसँग समन्वय गरेर संघ सरकारले आयोजनाहरु तयार गर्दैछ ।’

देशैभरि खानेपानीको सुनिश्चितता गर्न मन्त्रालयले थोक वितरण प्रणालीको रुपमा नदीहरुको डिपीआर तयार पार्ने कार्य यसै आर्थिक वर्षमा गर्ने मन्त्री मगरले जानकारी दिनुभयो । उहाँले खानेपानीको क्षेत्रमा दीर्घकालीन र अल्पकालीन योजनाहरु बनाएर काम अगाडि बढाईरहेको स्पष्ट पार्नुभयो ।

मेलम्चीको विषयमा संसदमा उठाइएको प्रश्नको जवाफ दिंदै मन्त्री मगरले मेलम्चीको काम अब द्रुत गति ९स्पीड० मा अघि बढाउने बताउनुभयो । ‘मेलम्ची आयोजना सुरु हुँदादेखि अहिलेसम्म २४ औं पटक मन्त्री फेरिएको कुरा एक जना माननीयज्यूले गर्नुभएको छ ।’ उहाँले भन्नुभयो, ‘अब २५ औं पटक मन्त्री नफेरियोस् । हामी त्यही स्पीडमा काम गर्दैछौं । मेलम्चीको सन्दर्भमा अन्तरवस्तुलाई केलाएर हल गर्ने तयारीमा छौं । काम छाडेर हिंडेको सिएमसी कम्पनी टाट पल्टिनुमा नेपाल सरकारको कुनै भूमिका छैन । त्यो कम्पनी आर्थिक रुपमा टाट पल्टिएका कारण अरु देशमा पनि उसका आयोजनाहरु अलपत्र परेको समाचार माननीय ज्यूहरुले हेरेर बुझिदिनुप(यो ।’


प्रतिक्रिया दिनुहोस्