रियल म्याड्रिड र बार्सिलोना विजयी

प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड विजयी भएका छन् । अमेरिकामा बिहीबार बिहान भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई २–१ गोलले हरायो । अर्को खेलमा रियल म्याड्रिडले अष्ट्रियाको रेडबुल साल्जबर्गलाई १–० गोलले हरायो ।

बार्सिलोनाका लागि ३९औँ मिनेटमा सर्जियो बुस्केटले पहिलो गोल गरेका थिए । सर्जियोको डिबक्सबाट गरेको सशक्त प्रहारलाई नापोलीका गोलरक्षकले रोक्न भ्याएनन् । त्यसपछि नापोलीले ४२ औँ मिनेटमा आत्मघाती गोल सहयोगमा मिनेटमा बराबरी गोल फर्कायो । बार्सिलोनाका स्यामुएल उम्टिटीको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो ।

त्यसपछि बार्सिलोनाले ७९औं मिनेटमा निर्णायक गोल गरेको थियो । इभान र्याकीटिचको लामो दुरीबाट गरेको सशक्त प्रहार सोझै गोलमा परिणत भएको थियो ।त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र बार्सिलोना विजयी भयो ।

यसैगरी रियलको जितमा इडेन हाजार्डले निर्णायक गोल गरेका थिए ।यसै सिजन चेल्सी छाडेर रियल पुगेका हाजार्डले १९औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । रियलमा हजार्डको यो डेब्यु गोल हो ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेललाई यस खेलमा पनि टोलीमा राखेका थिएनन् । चीनको शीर्ष क्लब जाने प्रक्रियामा रहेका बेललाई रियल व्यवस्थापनले क्लब छाड्न दिएको छैन । तर जिदानले टोलीका नराखेपछि बेललाई थप समस्या परेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्