तिम्बुङपोखरीको गलत प्रचार गरेर भ्रम नछर्न आग्रह

प्रयास लिम्बू ताप्लेजुङ साउन २३ / ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले तिम्बुङ पोखरीको विषयमा गलत प्रचार गरेर भ्रम नफैलाउन आग्रह गरेको छ । तिम्बुङ पोखरीलाई बिष्णुपोखरी नामाकरण गर्न खोजिएको भनी सामाजिक सञ्जालहरुमा स्टाटस लेखेर भ्रम फिँजाउन खोजिएकोभन्दै सिदिङ्वा गाउँपालिकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।


सिदिङ्वा गाउँपालिकाले जिल्ला सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलनको आयोजना गरी तिम्बुङ पोखरीलाई बिष्णुपोखरीमा रुपान्तरण गर्ने कुनै योजना नरहेको र कल्पनासमेत नभएको भन्दै अनावश्यक भ्रम फैलाउन खोजिएकोप्रति आपत्ति जनाउदै त्यस्तो गलत अफवाह नफैलाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । गाउँपालिकाले आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको जनाउँदै तिम्बुङ पोखरीलाई बिष्णुपोखरी नामाकरण गरी त्यस क्षेत्रका रैथाने समुदायको धार्मिक, साँस्कृतिक तथा प्राकृतिक स्रोतसधान अतिक्रमण भएको भन्ने केही सञ्चारमाध्यममा आएको समाचार र टीप्पणी भ्रामक, तथ्यहीन र पूवाग्रही भएको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले यस्ता तथ्यहीन टीप्पणीहरु बाहिर आउँदा जनमानसमा गलत सन्देश प्रवाह हुन पुगेकोभन्दै त्यसप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । अध्यक्ष कडरियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा तिम्बुङ पोखरीलाई बिष्णुपोखरी बनाउने समाचार तथा टीप्पणी यथार्थ नभई भ्रामक रुपमा सम्प्रेषण भएको दावी गरिएको छ । तिम्बुङ पोखरीको नामै परिवर्तन हुनेगरी गाउँपालिकाले कुनैपनि काम कारबाही नगरेको र त्यस्तो कार्य गाउँपालिकाको सोचमा नरहेको समेत उल्लेख गरिएको छ । “आफ्नो कार्यअवधिभर तिम्बुङ पोखरीको ऐतिहासिक महत्व र गरिमा विपरीत अस्थित्व मेट्ने कुप्रयास हुन दिने पनि छैनौं र गाउँपालिकाले तिम्बुङ पोखरीलाई बिष्णुपोखरी बनाउने कल्पना समेत गरेको छैन” गाउँपालिका उपाध्यक्ष जीवनकुमार ताम्लिङले भन्नुभयो ।


प्रेस विज्ञप्तिमा गाउँपालिकाले सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख तथा गाउँपालिकाको पाँच समेत ५५ लाख रुपियाँको साझेदारी योजनाअन्तर्गत तिम्बुङ पोखरी क्षेत्रको पदमार्ग बिस्तार तथा स्तरोन्नति, शौचालय, प्रतिक्षालय, धारा तथा मन्दिरको जिर्णोद्धारका काम भएको उल्लेख छ । सङ्घीय सरकारले एक पर्यटकीय गन्तव्यको सूचिमा सुचिकृत गरिसकेको तिम्बुङ पोखरीको प्रवद्र्धन र विकास गर्न गाउँपालिकाले उक्त पूर्वाधारहरु निर्माण गर्दा पोखरीको सौन्दर्य बिगार्न खोजियो र नाम परिवर्तन गर्न लागियो भनी गलत नियतले भ्रामक प्रचार गरिएको गाउँपालिकाले जनाएको छ । ‘बरु निर्माण भएका पूर्वाधारहरुले पोखरी वा त्यस क्षेत्रको महत्वलाई अझ सौन्दर्य र विश्वसामु चिनाउन प्रेरित गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।


अघिल्लो वर्ष गाउँपालिकाकै संयोजनमा तेस्रो तिम्बुङपोखरी महोत्सव समेत सम्पन्न भएको स्मरण गर्दै गाउँपालिकाले तिम्बुङ पोखरी क्षेत्रको ऐतिहासिक अस्थित्व कायम राख्न गाउँपालिकाले हरदम प्रयास र प्रयत्न गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । तिम्बुङ पोखरी क्षेत्रको विशिष्ट ऐतिहासिक अस्थित्वलाई जोगाएर पर्यटन प्रवद्र्धनका लागि विशेष प्राथमिकताको योजनाहरु बनाएर कार्य गर्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकप्रसाद फागोले बताउनुभयो । फागोले अहिले भएका भौतिक पूर्वाधारका कार्य तिम्बुङ पोखरीको अस्थित्व नामेट पारेर बिष्णुपोखरी बनाउने दृष्टिले प्रेरित नभएको प्रष्ट्याउनुभयो । गाउँपालिकाले तिम्बुङ पोखरीलाई आफ्नो क्षेत्रको एक विशिष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्य राखेको र अहिले ऐतिहासिक महत्वमाथि आक्रमण गर्ने विषय गाउँपालिकाको कल्पना भन्दा बाहिरको विषय भएको बताउनुभयो ।


गाउँपालिकाले तिम्बुङ पोखरीलाई धार्मिक आस्था तथा साँस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा पनि ब्याख्या गरेको छ । जैविक विविधता, प्राकृतिक सौन्दर्यता, जलाधार तथा त्यस क्षेत्रको पर्यावरण सुरक्षित राख्न गाउँपालिकाले केही पूर्वाधारहरु निर्माण गरेको भन्दै गाउँपालिकाले विज्ञप्तिमार्फत यस कार्यले त्यहाँको धार्मिक, जैविक तथा पर्यावरण सुरक्षामा कुनै ह्रास नआउने प्रष्ट पारेको छ । गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीसहित सदरमुकाममा उपस्थित भएर आयोजित पत्रकार सम्मेलनमा तिम्बुङ पोखरी क्षेत्रलाई पूर्वी नेपालकै नमूना गन्तव्य बनाउने अभियानमा सबै पक्षसँग सम्वाद र समन्वय गरेर अघि बढ्ने पनि गाउँपालिकाले जनाएको छ ।


सामाजिक सञ्जालहरुमा नामै परिवर्तन गर्न लागियो भनेर चर्चा पाएको तिम्बुङ पोखरी क्षेत्रका बिषयमा जानकारी दिँदै नेपाल आदिवासी जनजाति महासङ्घ ताप्लेजुङका अध्यक्ष भद्रकुमार बोखिमले ऐतिहासिकतालाई कायम राख्नुपर्नेमा जोड दिनुभयो । ऐतिहासिक क्षेत्रको गरिमा र महत्व बचाउन सबै पक्षको कार्यगत एकतामा समेत बोखिमले जोड दिनुभयो । किराँत याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष प्रेमकुमार सेलिङ ‘संगम’ ले पनि तिम्बुङ पोखरीलाई कसैले चाहेर पनि अर्को नाम र रुपमा मोड्न नसक्ने बताउनुभयो । स्थानीय सरकारका रुपमा रहेको गाउँपालिकाले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरिसकेकाले अब कसैले अन्यथा नबुझ्न उहाँले आग्रह गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्