ताप्लेजुङमा भाइरल ज्वरोका बिरामी बढे

ताप्लेजुङ साउन २३ / ताप्लेजुङमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता भाइरल ज्वरोका बिरामी बढेसँगै हिजोआज जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्था बिरामीले भरिभराउ बनेका छन् । साउन महिनाको पहिलो सातापछि भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको अस्पतालले जनाएको छ ।


जिल्ला अस्पताल ताप्लेजुङका अनुसार भाइरल ज्वरोका बिरामीहरु बढ्न थालेपछि अस्पतालको ओपीडीमा सेवा लिनेको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ । पहिले ४० देखि ५० जनासम्म ओपीडीमा सेवा लिनेहरु हुने गरेकामा हिजोआज दैनिक एक सय २५ जनाभन्दा बढी ओपीडी सेवा लिने बिरामीहरु आउने गरेका जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । डाक्टर लामाका अनुसार ओपीडी सेवामा टिकट लिनेको लाइन बिहान १० देखि २ बजेसम्म नै लाग्ने गरेको छ ।


जिल्ला अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा उपचार सेवा लिन आउनेहरु पनि बढी भाइरल ज्वरोकै बिरामीहरु रहेका लामाले बताउनुभयो । करिव दुई हप्तायता सबैभन्दा बढी भाइरल ज्वरोका बिरामीहरुले अस्पताल भरिभराउ हुने गरेको जिल्ला अस्पतालले जनाएको छ । ज्वरो सङ्क्रमित बिरामीहरु कतिपय १३५ डिग्री भन्दामाथि ज्वरो भएका बिरामीहरु पनि अस्पतालमा उपचार सेवा लिन आउने गरेका डा. लामाले जानकारी दिनुभयो । बच्चादेखि वृद्धवृद्धासम्म ज्वरोबाट सङ्क्रमित बिरामी रहेका उहाँले बताउनुभयो ।


हिजोआज जिल्ला अस्पतालमा मात्र नभई ग्रामीण क्षेत्रका स्वाथ्य संस्थाहरुमा पनि भाइरल ज्वरोका बिरामीको चाप रहेको बताइएको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुबाटै केही ज्वरोका बिरामी रेफर भएर आउने गरेका पनि लामाले जानकारी दिनुभयो । अस्पताल आाएका बिरामीको अवस्था हेरी ज्वरोले सिकिस्त भएकाबाहेकलाई औषधि दिएर पठाउने गरेको पनि उहाँले बताउनुभयो । हाल जिल्ला अस्पतालमा रहेका प्रसूति कक्षसमेत ३५ वटै शैय्या (ओछ्यान) भरिभराउ रहेको छ । बिरामीको चाप बढ्दै गएकाले भुइँमा राखेर बिरामीको उपचार गर्नुपर्ने अवस्था आउनसक्ने सम्भावना बढेको डा. लामाको भनाइ छ ।


हिमाली जिल्लाको भूगोल रहेका कारण गर्मीको अन्त्य भई चिसो मौसम सुरु हुने समय भएकाले अहिले भाइरल ज्वरोजस्ता मौसमी बिरामीको सङ्ख्या बढ्दै गएको अस्पतालले जनाएको छ । हाल ज्वरोसँगै झाडापाखाला, बान्ता गर्ने, टाउको दुख्ने, रुघाखोकी जस्ता समस्याबाट सङ्क्रमित बिरामीहरु आउने गरेका छन् । सधैं मौसम परिवर्तन हुने बेलामा ज्वरो, रुघाखोकी, झाडापखाला जस्ता सङ्क्रमण फैलिने भएकाले यसबाट बच्नलाई पानी राम्ररी उमालेर उपभोग गर्नुपर्ने, अन्य उपभोग्य वस्तुहरु पनि राम्ररी सफा गरेर साथै पाक्नेगरी पकाएर सेवन तथा उपभोग गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।


जिल्ला अस्पतालमा उपचार गराइरहेका भाइरल ज्वरोका बिरामी । तस्बिर : प्रयास लिम्बु


प्रतिक्रिया दिनुहोस्