नेकपा ताप्लेजुङद्वारा जिल्ला कमिटी सदस्यको कार्यविभाजन

प्रयास लिम्बू ताप्लेजुङ, साउन २६ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले जिल्ला कमिटी सदस्यहरुको कार्यविभाजन सहित विभिन्न निर्णय गरेको छ । जिल्ला कमिटी सचिवालयको बैठकले प्रदेश सरकारद्वारा बिनियोजन भएका बजेटको अख्तियारी समयमै पठाउन १ नं. प्रदेश सरकारको ध्यानाकर्षण पनि गरेको छ । बजेटको अख्तियारी समयमै स्थानीय तहमा नपठाउँमा अधिकांस योजना समयमै सम्पन्न हुन नसकेको भन्दै नेकपा ताप्लेजुङले यसप्रति चासो र चिन्ता समेत जनाएको छ ।
शुक्रबार र शनिबार दुई दिन बसेको नेकपा ताप्लेजुङको सचिवालय बैठकले गरेको निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा नेकपाका जिल्ल्ला अध्यक्ष विजयप्रकाश वनेमले सांगठनिक अवस्थासहित सार्वजनिक सेवा प्रवाहका बिषयमा बैठकमा चासो र चिन्ता व्यक्त गरिएको बताउनुभयो ।

वनेमका अनुसार बैठकले सरकारी तथा सार्वजनिक निकायहरुमा सेवाग्राहीसँग घुस तथा किमसन माग्ने, ढिलासुस्ती गर्ने जस्ता क्रियाकलाप भइरहेकोप्रति ध्यानकर्षण महशुष गर्दै यस्ता कार्यलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको छ ।
बैठकले जनताको बलिदानबाट स्थापित एजेण्डा उल्टाउन देशी–बिदेशी शक्ति लागि परेकोभन्दै त्यस बिरुद्ध प्रतिरोधका लागि कार्यकर्ता र जनसमुदायसँग अपिल गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा बितरित विज्ञप्तिमा जनाइएको छ ।

नेकपा ताप्लेजुङको सचिवालय बैठकले यहिं भदौ ५ गते पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि र जिल्ला कमिटी सदस्यको संयुक्त बैठक राख्ने भएको छ । ‘पार्टी र स्थानीय सरकारबीच व्यवस्थित समन्वय स्थापित गर्न यो भेला राखिएको हो’ जिल्ला कमिटी अध्यक्ष वनेमले भन्नुभयो । बैठकले स्थानीय तहमा गठन भएका पालिका समन्वय कमिटीबाट वडा तहमा पार्टी एकताका बाँकी कम सम्पन्न गरी सिफारिस गर्न दिएको जिम्मेवारी अनुसार ५६ वटा वडा किमिटीलाई अनुमोदन समेत गरेको छ ।


नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङ्बोले योसँगै यहाँ पार्टी एकताको काम लगभग टुङ्गिन लागेको जानकारी दिनुभयो । मेन्याङ्बोका अनुसार जिल्लाका ६१ वटा वडामध्ये ५६ वटा वडा कमिटीले पूर्णता पाएको छ भने बाँकी ५ वटा वडा कमिटीको पूर्णताका बारेमा गृहकार्य भइरहेको छ । वडातहको इञ्चार्जमा कम्तिमा जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा रहेकालाई थप जिम्मेवारीको रुपमा दिइएको समेत उहाँले जानकारी दिनुभयो । फक्ताङ्लुङ गाउँपालिकाको वडा नं. ७ ओलाङ्चुङगोलाबाट भने नेकपा जिल्ला कमिटीमा प्रतिनिधित्व नभएकोले त्यो वडा कमिटीमा मात्र इञ्चार्जको जिम्मेवारी बाँकी राखी अरु सबैमा वडा इञ्चार्ज तोकिएको जिल्ला अध्यक्ष वनेमले जानकारी दिनुभयो ।


जिल्ला इञ्चार्ज भाष्कर काफ्लेको प्रमुख आथित्यतामा सम्पन्न सचिवालय बैठकले पूर्व नेकपा एमालेबाट ४ र पूर्व माओवादी केन्द्रबाट ३ गरी ७ जनाको कार्यालय टोली गठन गरेको छ । कार्यालय टिम जिल्ला तहको सबैभन्दा उपल्लो र बलियो शक्ति मानिन्छ । कार्यालय टिममा पूर्व एमालेबाट जिल्ला सचिव बलबहादुर साम्सोहाङसहित मातृकाप्रसाद भट्टराई, गोपाल थोप्रा र सन्तोष खतिवडा तथा पूर्व माओवादी केन्द्रबाट जिल्ला अध्यक्ष वनेमसहित बिष्णुकुमार हाङ्बाङ र सुरज ओझा रहेका छन् । नेकपाले सांगठनिक अभिलेख तथा कामहरुलाई सञ्चार र प्रविधिमामार्फत नाम रहेको वेभसाइट समेत सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा प्रदेश कमिटी सदस्यहरु खेलप्रसाद बुुढाक्षेत्री (पराग) लक्ष्मी अन्छङ्बो (आवाज) र अम्बिकाराज भण्डारी सहितको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्