शिक्षाका दुई इन्जिनियर एक लाख घुससहित समातिए

 पोखरा, २३ चैत / जिल्ला शिक्षा कार्यालय कास्कीका दुई इन्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । विद्यालय भवन निर्माण सकेर बिल भुक्तानी दिने क्रममा घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले उनीहरुलाई प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इन्जिनियर प्रदीपकुमार बानियाँ र सब(इन्जिनियर छबिन्विक्रम खाँड छन् । मादी गाउँपालिका ८ स्थित नारायण आधारभूत विद्यालयको भवन निर्माणको बिल फर्छ्यौटमा १ लाख रुपैयाँको घुस लिँदै गर्दा पोखरा चिप्लेढुंगाको एक रेस्टुरेन्टबाट उनीहरु पक्राउ परेका हुन् ।

विद्यालयको भवन निर्माण सम्पन्न भइसकेपछि भुक्तानी दिने क्रममा उनीहरुले घुस मागेका रहेछन्, आयोगका सूचना अधिकारी रमेश ढकालले भने । उजुरीकै आधारमा चिप्लेढुंगाको एक रेस्टुरेन्टबाट उनीहरुलाई रंगेहात पक्राउ गरी अनुसन्धान थालिएको छ ।


प्रतिक्रिया दिनुहोस्