नेकपा सचिवालय बैठक बस्दै आज

काठमाडौं साउन २९ / प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै मंगलबार बैठक बस्ने निर्णय भएको थियो । तयारी नपुगेकाले बैठक बुधबारका लागि तय गरिएको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ ।

यसअघि, बसेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन छलफलमा केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन निम्ति सबैसँग रुचीका प्राथमिकताबारे सल्लाह र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।

नेकपामा स्कुल विभाग ‘कसलाई दिने भन्नेबारे अझै विवादनै छ । विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतकाले दाबी गर्दै आएका छन् ।

अन्य विभाग टुङ्गो लागे पनि स्कुल विभागमा कुरा नमिल्दा नेकपा सचिवालय बैठक पटक–पटक स्थगित हुँदै आएको छ । पार्टी एकताको एक वर्ष पूरा भए पनि अझै प्रक्रिया सकिएको छैन ।

अहिलेसम्म प्रदेश र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिन बाँकी नै छ । यसैगरी, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठन समेत अपूरै छ ।

नेकपा स्थायी कमिटी सदस्य गणेश साहले अब बस्ने सचिवालय बैठकले सबै समस्या समाधानसहित एकताका बाँकी काम टुङ्गो लगाउने दाबी गरेका छन् । बाँकी काम टुङ्गो लगाउने र देशभर ‘जागरण अभियान’ शुरु गर्ने जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्