छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं साउन ३० / सप्तरी, खड्क नगरपालिका-४ करमिनिया चोकस्थित सडकमा जेएच १५जे ३२०३ नम्बरको बलेरो जिप र को-१ च ४२२८ नम्बरको मारुती भ्यान एकआपसमा बुधबार दिउँसो ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका र मारुती भ्यानमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया टेकमाया लिम्बुको सप्तऋष अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको
छ ।

दुर्घटनामा घाइते भएका जिप तथा भ्यानमा सवार ५ जनाको सोही अस्पतालमा उपचार
भइरहेको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई फरार बलेरो जिप चालकको प्रहरीले खोजी गरिरहेको छ । धनुषा, मिथिला नगरपालिका-८ जमुनी वासस्थित सडकमा ज.३ प ८६२७ नम्बरको मोटरसाइकल ना.४ ख ७१८६ नम्बरको लहरी ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार महोत्तरी गौशाला
नगरपालिका-११ बस्ने २० वर्षीया ममता महतोको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ममताका पति २१ वर्षीय राकेश महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, बलवा नगरपालिका-३ स्थित सडकमा ज-४ प ६२९ नम्बरको
मोटरसाइकलले सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने २२ वर्षीय राज कुमार साहको जिल्ला अस्पतालबाट जनकपुर हुँदै न्यूरो अस्पताल बाँसबारी काठमाडौंमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्