पार्टी एकता नगरेको भए हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ : प्रचण्ड

काठमाडौं, साउन ३२ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताएका छन् ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले आज काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनुपर्ने बाध्यता रहेको बताए ।

नेकपाको सचिवालय बैठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पारे । कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुबै भएको भन्दै उनले अहिले पनि केही गर्न नसके इतिहासले धिक्कार्ने बताएका छन् ।

अध्यक्ष दाहालले यस्तो अवसर सधै नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । यस्तै अध्यक्ष दाहालले चिकित्सकहरुले आफ्नो पेशालाई मानवतासँग जोडेर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

पेशा सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई बस्तु नठानी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताए ।

अध्यक्ष दहालले विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौति रहेको पनि बताए । कार्यक्रममा नकेपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी चिकित्सकहरुले भने गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा आवश्यक रहेको भन्दै सरकारी नीति प्रष्ट हुनुपर्ने माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्