अर्को निर्वाचनपछि मलाई पनि पदमा बस्न मन छैन: प्रधानमन्त्री

काठमाडौं भदौ १ / प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सदासदाका लागि पदमा बसिरहने गरी नआएकाले धैर्य गर्न प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीले केही प्रतिगामी तत्वहरु सडकमा आउने बित्तिकै यो सरकार ‘लगलग’ नकाम्ने दावी गर्दै यस्ता तत्व नहौसिए हुने चेतावनी समेत दिएका छन् ।

उनले भने, हुन त मैले सुने प्रधानमन्त्री लगलग कामेका छन् पद जाने भो भनेर । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन त्यसकारण निर्वाचनसम्म साथीहरुलाई धैर्य गर्न म आग्रह गर्छु ।

प्रधानमन्त्री ओलीले सरकारको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताप्रति विरोधीहरुले अनावाश्यक भ्रम र हल्ला फैलाइरहेको आरोप लगाउँदै त्यस्ता भ्रम नफैलाउन चेतावनी दिए । प्रतिनिधिसभामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम सरकारलाई सैह्य नहुने बताए ।

उनले भने, लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले खुलेआम गतिविधि गरिरहेका छन् । यो सरकार अचानक ह्वीम र जनताको फ्रस्टेशनबाट बनेको सरकार होइन, यसको संघर्ष र बलिदानको इतिहास छ ।

आवेग, उत्तेजना र फ्रस्टेशनबाट सरकार बनेको होइन । जनताको जनादेशबाट यो सरकार गठन भएको हो । उनले विकास निर्माण र आर्थिक बृद्धि दर बढेको गएको भए पनि केही भएन भन्नेहरुलाई केही भन्न नसक्ने बताएका छन् ।

सरकारको लोकतन्त्रप्रतिको निष्ठाका सम्बन्धमा अनावाश्यक भ्रम र हल्ला फैलाउने काम भए पनि त्यो सफल हुन नसक्ने प्रधानमन्त्री ओलीले बताएका छन् । ‘यो हाम्रा विरोधीले चलाएको हल्ला हो । जनतामा निराशा, फ्रस्टेशन, र विश्वास टुटाउने योजनाका साथ यस्तो हल्ला चलाइएको छ तर यस्ता हल्ला चलाएर लोकतन्त्रमाथिको सरकारको दृढता टुट्दैन’, उनले भने ।

‘यो नयाँ प्रणाली हो । नयाँ प्रणाली भएकाले पुरानो प्रणालीका संवाहक र पक्षधर पनि देशमा छन् । लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले पनि खुलेआम गतिविधि गरिरहेका छन् । तर यो नयाँ प्रणालीलाई कमजोर पार्ने प्रयास भइरहेको छ । यसमा सचेत हुन जरुरी छ,’ प्रधानमन्त्रीले सवैलाई सचेत गराए ।

उनले संविधान कार्यन्वयन गर्ने सन्दर्भमा नयाँ कानुनहरु निर्माण गरेको र एकाध बाहेक ती कानुनहरु पूरा भएको भन्दै बाँकी काननु चालु अधिवेशनमा सम्पन्न गरिसक्नुपर्ने बाध्यता रहेकाले संसद त्यसमा केन्द्रीत रहेको बताएका छन् ।

‘कानुन निर्माणमा विलम्ब हुँदा कार्यान्वयनमा विलम्ब हुन्छ, त्यसो हुँदा जनताले पाउने प्रतिफल कमजोर हुन्छ । त्यसैले कानुन निर्माणमा ढिला गर्नुहुदैन,’ प्रधानमन्त्रीले भने, ‘सरकारले सुशासनमा र विकासमा ध्यान केन्द्रीत गरेको छ । सुखी नेपाली समृद्ध नेपालका लागि अशिक्षा र पछौटेपनबाट मुक्ति जरुरी छ ।

सम्पन्नता हासिल, शान्तिसुरक्षा र सम्मानपूर्ण ढंगले समानताका आधारमा बाँच्न पाउने अवस्था सिर्जना गर्नु नै सुखी नेपाली सम्बृद्ध नेपालको कल्पना हो,’ प्रधानमन्त्रीले भने ।


प्रतिक्रिया दिनुहोस्