रविको विषयलाई लिएर फेसबुकबाट प्रहरीलाई गाली गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं भदौ १ / टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए । उनले अनलाइनखबरसँग भने, हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइपुर्‍‍याई सकिएको छैन ।

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘हामीले पक्राउ गरेर पठाइसकेका छौं । अन द वे होलान् ।’अनुसन्धान अधिकृतका अनुसार, विसीले आफूलाई गायक भएको परिचय दिएका छन् ।

उनले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट‘ ,,, भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् ।विकविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्