सोलुखुम्बु पासाङल्हामु गाउँपालिकामा प्लाष्टिक बोत्तल र झोला प्रतिबन्ध

सोलुखुम्बु भदौ ३ / सोलुखुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतल प्रयोगमा रोक लगाइएको छ। वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला रे बोत्तल प्रयोगमा रोक लगाउने निर्णय गरेका हुन् ।

आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम अनुसार गाउँकार्यपालिकाले उक्त निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले जानकारी दिएका छन् । निर्णयअनुसार आगामी पुस १६ देखि लागु हुने गरी खुम्बु क्षेत्रभित्र ३० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक, पेय पदार्थका प्लाष्टिकका बोतल निषेध गरिएको छ।

गाउँपालिकाले समयसीमाभन्दा अघि त्यस क्षेत्रका नागरिकलाई पाँच प्रकारको झोला वितरण गर्ने जनाएको छ। मानवीय क्रियाकलापका कारण जलवायुमा प्रतिकूल असर परेको, हिमालमा हिउँ सुक्दै जान थालेको तथा जनस्वास्थ्यमा समेत असर पर्ने देखिएकाले प्लाष्टिक निषेध गरिएको गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए।

प्लाष्टिक नकुहिने र जलाउँदा समेत वातावरणसँगै मावन स्वस्थ्यमा समेत असर पर्ने भएकाले निषेध गरिएको उनको भनाइ छ। विश्व सम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज समेत रहेको गाउँपालिका पर्यटकीय हिसाबले अति महत्त्वपूर्ण मानिन्छ। उक्त गाउँपालिकाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौं हिमाल हरु छन्। गाउँपालिकामा बर्सेनी ५० हजार जनाभन्दा बढी पर्यटक खुम्बु आउने गर्छन्।


प्रतिक्रिया दिनुहोस्