रक्तचन्दनको तेलसहित तीन जना पक्राउ प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार ११:४८ काठमाडौं भदौ ४ / नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले लामा बस्ने कोठामा प्लाष्टिकको बोराले छोपेर राखेको अवस्थामा सिल्भरको गाग्रोमा ४५ लिटर रक्तचन्दन फेला परेको जानकारी गराए । “पक्राउ परेकाले नयाँबजारको सोसल खेलमैदानमा रक्तचन्दनको कारोवार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ”, उनले भने । रक्तचन्दनको तेल लामाको कोठाबाट बरामद गरे पनि उक्त कारोवारमा केसी र पौडेलसमेत संलग्न रहेको राठौरले बताए । रक्तचन्दन साइटिस महासन्धिमा सूचीकृत वनस्पति हो । पक्राउ परेका तीनै जनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।