चिया खानकै लागि भारतीय पर्यटक इलाम आउँछन् : मन्त्री योगेश भट्टराई

ईलाम भदौ ४ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन्। उहांले पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुरूप त्यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम भइरहेको जानकारी दिए ।

फाईल तस्विर

इलामको सूर्योदय नगरपालिकामा जनप्रतिनिधिहरूसँगको संक्षिप्त भेटमा मन्त्री भट्टराईले इलाममा छिमेकी भारतबाट चिया खानकै लागि पनि पर्यटकहरू आउने वातावरण बनाउनुपर्ने बताएको छ। सूर्योदयबाट भारत टाढा छैन। कम्तीमा भारतबाट एक कप मात्र पनि चिया पिउन पर्यटक आउने वातावरण बनाउनुपर्‍यो’ उनले भने।

झापाको काँकडभिट्टादेखि कञ्चनजंघा फुट ट्रेल र धनकुटाबाट समेत निर्माण भएकाले विदेशी पर्यटकहरूलाई नेपालको सौन्दर्य देखाएर आर्कषित गर्नुपर्ने समेत उनको भनाइ छ। ‘विदेशीहरू विशेष गरेर हिँडेर यात्रा गर्न मनपराउँछनु उनले भने ‘भारत र चीनबाट पर्यटकहरू भित्र्याएर भए पनि पर्यटन वर्ष सफल बनाउनुपर्छ।

मन्त्री भएको ३ हप्तामात्र भएकाले पर्यटन विकासका सबै योजनाहरू बुझने अझ केही समय लाग्ने उनले बताए। मन्त्री भट्टराईले बुधबार नै इलाम नगरपालिका– ९ मा निर्माणाधीन सुकिलुम्वा विमानस्थलको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । भेटघाटमा इलामका प्रदेश सांसद काजीमान कागते, राम राना तथा ताप्लेजुङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद प्रतापप्रसाद हाङगाम र बिष्णु तुम्वाहाम्फे लगातयको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्