झन् झन् बढ्दै बालविवाह

 काठमाडौँ, २४ चैत / पछिल्लो पटक कम उमेरमा हुने विवाह झन् झन् बढ्दै गएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार चार महिनामा १४ जिल्लामा ४० बालविवाह भएका घटना प्रकाशमा आएका छन् । गत मंसिरदेखि फागुनसम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई अध्ययन गर्दा सबैभन्दा बढी बैतडीमा १२ घटना प्रकाशमा आएका छन् । आव २०७४/०७५ को प्रथम चार महिना (साउनदेखि कात्तिक) मा ३२ बालविवाह भएका थिए । त्यसैगरी आव २०७३/०७४ मा ६६ बालविवाह भएका घटना प्रकाशनमा आएका थिए । यसबाट बालविवाहको घटनामा झन् झन् वृद्धि हुँदै गएको देखिन्छ । प्रकाशमा नआएका बालविवाहका घटना अझ बढी हुनसक्ने अनुमान गर्न सकिन्छ । समितिका कार्यकारी निर्देशक तारक धितालले बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवैले उमेर नपुग्दै विवाह गरेको घटना सबैभन्दा बढी हुने गरेको जानकारी दिनुभयो । सोअन्तर्गत ५० प्रतिशत विवाह (२० घटना) बालबालिकाबीच भएको देखिन्छ । त्यसैगरी बालिका र वयष्क पुरुषबीच ४५ प्रतिशत (१८ घटना) विवाह भएको छ भने ५ प्रतिशत (२ घटना) अनमेल (वृद्धसँग) विवाह भएको छ ।
                                                            फाइल तस्बिर ।

प्रतिक्रिया दिनुहोस्