रवि लामिछानेका पक्षमा जनलहरको अर्थ के ?

काठमाडौं, भदौ १२ / आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालत चितवनमा पाँच लाख धरौटी बुझाएर छुटेका संचारकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखेका थिए ।सभामा हजारौं उपस्थित त थिए नै, राजनीतिक दलले गर्ने आमसभाकै झल्को दिने उक्त सभाका सहभागी भने फरक फरक सामाजिक र राजनीतिक पृष्ठभूमिका देखिन्थे ।

बुधबार काठमाडौं फर्केका संचारकर्मी लामिछानेलाई पछ्याउनेको भीड पनि उस्तै थियो । फौजदारी अभियोगमा मुद्दा खेपिरहेका संचारकर्मीलाई पछ्याउने यति ठूलो संख्या कसरी निर्माण भयो रविलाई पछ्याउनेहरु सामान्य प्रशंसक मात्रै हुन वा राजनीति, विधि र व्यवस्थाबाट दिक्क भएकाहरुको जनमत हो राजनीतिशास्त्री कृष्ण खनालको बुझाइमा सामाजिक संजालको माध्यमबाट जोडिएका र त्यसैबाट रविलाई पछ्याएकाको समूहलाई सामान्य ठानेर नजरअन्दाज गर्न मिल्दैन ।

‘रविलाई पछ्याइरहेको र यही मुद्दामा जोडिएर आफ्नो मत राखिरहेको ठूलो समूहलाई परम्परागत राजनीतिबाट वितृष्णा भइरहेको जनमतका रुपमा पनि बुझ्न सकिन्छ, उनले भने ।खनालका बुझाइमा राजनीतिक दलहरु परम्परागत सोचाइमा छन्, जबकी नयाँ पुस्ता प्रविधि, सञ्चार र सामाजिक सञ्जाल सम्पर्कले बदलिसकेका छन् ।

‘धेरैजसो नेताहरु बदलिंदो दुनियाँबारे जानकार छैनन्, नयाँ प्रविधिबारे ख्याल छैन । केही केही सामाजिक संजाल छिरेका त छन् तर त्यो पनि अरुको सहयोगमा । उनीहरुमा समयअनुसार बदलिने सोच र सिक्ने चाहना दुवै देखिंदैन,’ उनले भने ।

यस्तो पृष्ठभूमिमा टेलिभिजन, सामाजिक सञ्जाल र युट्युबमार्फत लामिछाने जबरजस्त रुपमा उदाएका हुन । खनालका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगकर्तालाई सम्बोधन गर्ने सीप, शैली र कौशल हाम्रो राजनीतिमा देखिन्न ।

यो समाचार कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्