नेयमार,पीएसजीमै थन्किए

काठमाडौं भदौ १८ / ब्राजिलियन स्टार नेयमार अन्नतः पेरिस सेन्ट जर्मन (पीएसजी) मै थन्किएका छन् । वर्षभर ट्रान्सफर बजारमा छाएका नेयमार पछिल्लो समय बार्सिलोना जाने चर्चा खुबै चलेको थियो । नेयमारलाई भित्र्याउन बार्सिलोनासँगै रियल म्याड्रिड पनि कम्मर कसेर लागेको थियो । तर अन्तिममा दुबै क्लबको प्रस्तावलाई पीएसजीले स्वीकार गरेन ।

स्पेनिस लिगको खेलाडी ट्रान्सफरको समय सोमबारसम्म थियो । अन्तिमसम्म पनि नेयमारलाई बार्सिलोना फर्काउने विषयमा बार्सिलोना र पीएसजीका पदाधिकारीबीच छलफल भएको थियो । तर, पीएसजीले ठूलो रकम सहित विभिन्न सर्त राखेकाले नेयमारको ट्रान्फर सफल भएन । नेयमार दुई बर्षअघि दुई सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी गएका थिए ।

पीएसजी गएपछि नेयमारले बार्सिलोनाले आफुलाई २६ मिलियन युरो नदिएको भन्दै स्पेनको अदालतमा मुद्दा दायर गरेका थिए । त्यसपछि बार्सिलोनाले पनि नेयमारबाट क्लबले उल्टै ७५ मिलियन युरो पाउनु पर्नेमा नदिएको भन्दै मुद्दा दायर गरेको थियो ।

यस मुद्दाको फैसला यही सेप्टेम्र २७ तारिख हुँदैछ । बार्सिलोना जाने इच्छा सफल नभएपनि नेयमारको भेट अब बार्सिलोनाका पदाधिकारीसँग अदालतमा हुनेछ ।२७ वर्षीय नेयमारले पिएसजीमा दुई सिजनमा ५८ खेल खेल्दै ५१ गोल गरेका छन् । यस अघि बार्सिलोनामा उनले चार सिजन खेल्दै एक सय ८६ खेलमा एक सय पाँच गोल गरेका थिए ।ब्राजिलका महत्त्वपूर्ण खेलाडी उनले राष्ट्रिय टोलीबाट ९७ खेल खेल्दै ६० गोल गरेका छन् एजेन्सी


प्रतिक्रिया दिनुहोस्