रविको मुद्दामा उच्च अदालतले माग्यो जिल्लासँग प्रतिवेदन

काठमाडौं भदौ १८ / पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जोडिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलले मंगलबार दिएको निवेदनउपर उच्च अदालत पाटन, हेटौँडा इजलाशले बुधबार चितवन जिल्ला अदालतसँग कैफियत प्रतिवेदन मागेका छन् ।

फाईल तस्विर

चितवन जिल्ला अदालतले गरेको आदेशको आधारसहित कैफियत प्रतिवेदन माग आदेश गरिएको उच्च अदालत हेटौँडा इजलाशका रजिष्ट्रर विकास श्रेष्ठले जानकारी दिए। रबि लामिछाने र पत्रकार कँडेलले जिल्ला अदालत चितवनले दिएको आदेशविरुद्ध हेटौँडा इजलासमा निवेदन दिएका थिए। उक्त निवेदनको सुनुवाइ गर्दै न्यायाधीश टेकराज नेपालको इजलासले कैफियत प्रतिवेदन माग्ने निर्णय गरेको श्रेष्ठले बताएका छन् ।

प्रतिवेदन आएपछि हेटौँडा इजलाशले प्रतिवेदनको आधारमा पुनः सुनुवाई गर्ने श्रेष्ठको भनाई छ। धरौटीमा छुटेका लामिछानेले आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध निवदेन दर्ता गराएका थिए।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछाने र कँडेललाई जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमशः पाँच र तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा साउन २० गते राति मृत्त फेला परेका थिए ।

आत्महत्याअघि पत्रकार पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको भिडियो सन्देश खिचेको भेटिएको थियो । सोही भिडियोकै कारण उनीहरु आत्महत्या दुरुत्साहन गरेको आरोपमा लागेको थियो ।


प्रतिक्रिया दिनुहोस्