प्रधानमन्त्रीलाई अब आराम गर्न दिनुस्: गगन थापा

काठमाडौं,भदौ १८ / प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे संसदलाई जानकारी नगराइएको भन्दै प्रश्न उठाएका छन् । सांसद थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बिरामी प्रधानमन्त्रीलाई आराम गर्न दिन पनि आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले भने, ‘कम्युनिष्ट पार्टीका साथीहरूले धेरै पटक प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु, प्रधानमन्त्री बा सरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं रु बा धपेडी नगर्नुस्, आराम गर्नुस्, विश्राम गर्नुस् । हामी हाम्रो बालाई त्यसो भन्छौं तर, हाम्रो प्रधानमन्त्री बालाई किन यसो भन्न सक्दैनौं रु’

सत्तारूढ नेकपामा प्रधानमन्त्री हुन इच्छा राख्ने र पहिला पनि प्रधानमन्त्री भइसकेका धेरै नेताहरू भएको उल्लेख गर्दै उनले बिरामी प्रधानमन्त्रीलाई पार्टीले विश्राम दिनुपर्ने बताएका छन् ।

‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्,’ उनले थपे, ‘कार्यकारी प्रमुख एकै पटक लामो समय बाहिर बस्दा राष्ट्रिय सुरक्षा कूटनीतिक मर्यादा जोखिमको प्रश्न छँदैछ । भिडिओबाट मन्त्रीसँग कुरा गरेर शासकीय जिम्मेवारी पूरा हुन सक्दैन ।’

प्रधानमन्त्री ओली अहिले उपचारका लागि सिङ्गापुरमा छन् । १२ वर्षअघि मृर्गौला प्रत्यारोपण गरेका ओलीमा अहिले मृगौलासम्बन्धी एन्टिबडी बढी भएको छ ।

गत साउनमा उनी पहिलो पटक उपचारका लागि सिङ्गापुर गएका थिए । पहिला थाइल्याण्डको बैंककमा नियमित फ्लोअप गराइरहेका प्रधानमन्त्रीले सिङ्गापुरमा उपचाररत छन् । प्रधानमन्त्री भदौ ५ गते सिङ्गापुर गएका हुन् ।


प्रतिक्रिया दिनुहोस्