ताप्लेजुङमा दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै बजार अनुगमन गर्न सुरु

प्रयास लिम्बू ताप्लेजुङ, भदौ १७ / ताप्लेजुङमा दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै बजार अनुगमन गर्न सुरु गरिएको छ । उपभोक्ता हित विपरीतका कार्य भएको पाइएमा ठाउँका–ठाउँ कारबाही गर्नसक्ने सम्मको अधिकार पाएको फुङ्लिङ नगरपालिका नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले मङ्गलबारदेखि बजार अनुगमन सुरु गरेको हो ।


फुङ्लिङ नगर कार्यपालिकाले बजार अनुगमनका लागि पारित गरेको निर्देशिका राजपत्रको रुपमा प्रकाशित भएपछि संयुक्त अनुगमन टोलीले मङ्गलबार पहिलो पटक फुङ्लिङ बजारको अनुगमन गरेको हो । नजिकिँदो चाडपर्वलाई लक्षित गरी फुङ्लिङ नगरपालिकाको अगुवाइमा सुरु गरिएको बजार अनुगमनअन्तर्गत पहिलो दिन खाद्यवस्तु केन्द्रित अनुगमन तथा निरीक्षण गरिएको छ । बजार अनुगमन कार्यदल संयोजक भूपालकुमार सेन्दाङले पहिलो दिन किराना, फलफुल तथा माछा मासु पसलमा अनुगमन गरिएको जानकारी दिनुभयो ।


नगरपालिकाले अनुगमनका लागि खाद्यान्न समूह, औषधि एवम् स्वास्थ्य सेवा, रासायनिक मल, बिषादी, बीऊबिजन र कृषि औजार समूह, इन्धन, निर्माण सामग्री, शैक्षिक सामग्री, होटल तथा लज सेवा, सूर्तिजन्य पदार्थ, नापतौल उपकरण र पशुपक्षी हाटबजार तथा बिक्रीस्थल सहितलाई कार्यसूचीको रुपमा समावेश गरेको छ । यस्तै सौन्दर्य सामग्री बिक्री केन्द्र, बिद्युतीय सामान, रङ्गरोकन, गरगहना, सवारी साधन, ढुवानीको अवस्था र बिक्री, सञ्चार र स्थल यातायात तथा हवाई सेवाका बिषय समेत अनुगमन कार्यसूचीमा समावेश गरेको छ ।


उपभोक्ता अधिकारकर्मीसहित सेवा नियमनकर्ता निकायका प्रतिनिधि सामेल भएको अनुगमन टोलीले वस्तु तथा सेवाको बिक्री तथा वितरणको अवस्थाका बारेमा सुक्ष्म जानकारी लिएको छ भने उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने अखाद्यवस्तु नियन्त्रणमा समेत लिएको छ । यस अनुगमनभन्दा पहिले भएका अनुगमनका क्रममा दिएको सुझावको कार्यान्वयनमा सेवा प्रदायकले निभाएको भूमिकालाई पहिलो अनुगमनको आधार बनाइएको कार्यदल संयोजक सेन्दाङले जानकारी दिनुभयो । पहिलेको अनुगमनका आधारमा आफ्नो ब्यावसायिक क्रियाकलापमा केही सुधार गरेको पाइएको अनुगमन टोलीका सदस्य तथा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा इन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।


यता अनुगमका क्रममा फेला परेका अखाद्य वस्तुहरु नियन्त्रणमा लिएको उद्योग अधिकृत देउप्रकाश तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार म्याद नाघेका, लेबल नभएका खाद्य सामग्री अनुगमन टोलीले जफत गरेको छ । यस्तै क्रममा अधिकांस पसलहरुमा खाद्यान्न र मदिराजन्य सामान एकै ठाउँमा राखेर बिक्री हुँदै आएको पाइएकाले छुट्टाछुट्टै ठाउँमा राखेर विक्री वितरण गर्न व्यवसायीलाई सुझाव दिएको पनि समितिले जनाएको छ ।


कुनै बिना दर्ता व्यवसाय सञ्चालन गर्दै आएको पाइएकाले उनीहरुलाई सात दिनभित्र नगरपालिका लगायतका निकायमा दर्ता प्रक्रिया पूरा गर्न सुझाव दिइएको छ । तोकिएको समयमा मापदण्डा तथा दर्ता प्रक्रिया पूरा नगरे पसल सिलबन्दी हुनेबारे सचेत गराएको समेत फुङ्लिङ नगरपालिकाका आलेप अधिकृत एवम् अनुगमन कार्यदल संयोजक सेन्दाङले बताउनुभयो । अब बजार अनुगमनलाई निरन्तरता दिइने पनि समितिले जनाएको छ ।


यता सेवाग्राहीले भने मौसमी बजार अनुगमन गर्ने गरिएको भन्दै असन्तुष्टि पोख्ने गरेका छन् । एउटै सामानको फरक–फरक मूल्य तिर्नुपर्ने अवस्था रहेको, म्याद गुज्रेका सामग्री समेत व्यापारीले आपूmहरुलाई बिक्री गर्ने गरेको, कतिपय दैनिक उपभोग्य वस्तुको आपूmखुसी र मनपरी मूल्य तोक्ने गरेका पनि सेवाग्राहीले बताएका छन् । सेवाग्राही चाडपर्वमा गरिने मौसमी अनुगमन नभई बजार अनुगमन तथा नियमन निरन्तर गर्नुपर्ने माग पनि गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्