गौहत्या प्रकरण : रातारात नक्कली पत्र

सुर्खेत, भदौ १९ / दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ । छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगञ्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो ।

नेपालगञ्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए । त्यहीक्रममा ४० वटा गाईगोरु मरेका थिए । यस्तै दर्जनौं गाईगोरु घाइते छन् ।दैलेखको श्रीस्थान क्षेत्रबाट माग भएको भन्दै नेपालगञ्ज उपमहानगरले ती गाईगोरु पठाएको थियो । दैलेखका सबै स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले यसअघि नै ति गाईगोरु आफूहरूले नमगाएको स्पष्ट पारिसकेका थिए ।

तर घटनाको एक साता पुग्नै लाग्दा जिल्ला समन्वय समिति दैलेखले उपमहानगरसँग गाई मगाएको नक्कली पत्र तयार पारेपछि घटना थप रहस्यमय बनेको हो । नेपालगञ्ज उपमहानगरले गठन गरेको छानबिन टोली मंगलबार दैलेख पुगेको थियो ।

टोली फिर्ता भएसँगै जिससले उपमहानगरसँग गाई मगाएको पत्र सार्वजनिक भएको हो । जिससको नाममा रातारात पत्र बनाएर गाई मगाइएको देखाएपछि दैलेखका स्थानीय तह पनि आश्चर्यमा परेका छन् ।

घटनाको एक सातासम्म केही नबोलेको जिससले एकाएक गाई मगाइएको पत्र सार्वजनिक गरेपछि घटनामा मिलेमतो भएको स्थानीयको आशंका छ। यतिसम्म की गाई मगाइएको भन्ने पत्र सार्वजनिक भएपछि जिससका सदस्य र कर्मचारी नै आश्चर्यमा छन् ।

जिसस दैलेखले भदौ ८ गते उपमहानगरलाई गाई माग्दै पत्र पठाएको देखिन्छ । पत्रमा जिससका प्रमुख प्रेमबहादुर थापा र उपप्रमुख लक्ष्मीदेवी शाहको हस्ताक्षर छ । जबकी अरुबेलामा यस्ता पत्रमा जिल्ला समन्वय अधिकारीले हस्ताक्षर गरी पठाउँथे । तर यसमा प्रमुख र उपप्रमुख दुबैले हस्ताक्षर गरेकाले पनि यो पत्र रातारात तयार पारिएको देखिन्छ ।

भदौ ६ गते मात्र जिससको बैठक बसेको थियो। उक्त बैठक र त्यसअघिका कुनै पनि बैठकमा नेपालगन्जबाट गाई मगाउनेबारे कुनै छलफल, प्रस्ताव र निर्णय नभएको जिसस सदस्य ललित माझीले बताए । उनले भने, ‘जिससको बैठकमा गाई ल्याउने एजेण्डामा छलफल भएकै थिएन, तर एक्कासी गाई मगाएको भन्ने पत्र सार्वजनिक भयो। खै हाम्रा प्रमुखले के गर्नुभएको हो, हामीलाई त थाहा छैन् ।’

गाई मगाइएकोबारे जिससका कर्मचारी पनि अनविज्ञ छन् । निमित्त समन्वय अधिकारी पदमबहादुर सापकोटाले गाई मगाइएको पत्रबारे अनविज्ञता प्रकट गरे । कर्मचारीलाई समेत जानकारी नहुनुले पनि गाई मगाइएको पत्र रातारात तयार पारेको भन्ने स्थानीयको आरोपलाई पुष्टी गरेको छ ।

जिससको पत्रमा नारायण नगरपालिका र अन्य स्थानीय तहमा व्यवसायिक गाईपालनका लागि गाई उपलब्ध गराउन भनिएको छ । तर नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का भन्छन्, ‘हामीले गाई मागेकै थिएनौं, जिससले पनि हामीलाई जानकारी दिएको थिएन । एकाएक गाई ल्याउन किन खोजियो रु ’

नगरभित्र रहेका गाई व्यवस्थापन गर्न समस्या भइरहेका बेला नेपालगञ्जबाट गाई ल्याउने भनरे अनावश्यक रूपमा नगरपालिकालाई मुछ्ने काम भएको बताए । जिससले गाई मगाइएको भन्ने पत्र सार्वजनिक भएसँगै स्थानीय तहका पदाधिकारी र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जिससका पदाधिकारीले व्यक्तिगत स्वार्थ पूरा गर्न नक्कली पत्र तयार पारेको आरोप लगाएका छन् ।

माग, स्वीकृत र अनुमति एकै दिन १

यो घटनासँग सम्बन्धित पत्रको मिति एकैदिन छ। जिसस दैलेख, नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेले एकैदिन पत्र काटेका छन् ।
जिसस दैलेखले भदौ ८ गते नेपालगञ्ज उपमहानगरपालिकालाई स्वच्छ र पाल्नयोग्य गाई उपलब्ध गराउन भन्दै पत्र काटेको छ ।

सोहीदिन नै उपमहानगरले जिल्ला प्रशासन कार्यालय बाँकेमा गाई जिल्लाबाहिर लैजान अनुमति मागेको छ । भदौ ८ गते जिल्ला प्रशासन बाँकेले पनि उपमहानगरलाई दैलेख गाई लैजान अनुमति दिएको छ । तीन वटै निकायको पत्र एकैदिन काट्नुले पनि घटना नियोजित भएको र जिसस दैलेखको पत्र नक्कली भएको स्थानीयको दाबी छ ।

अर्कोतर्फ जिसस दैलेखको चलानी पुस्तिकामा पनि शंका गर्ने ठाउँ छ । चलानी दर्तामा जिससले भदौ ८ गते नै उपमहानगरलाई पत्र पठाएको देखिन्छ। तर भदौ ११ गतेपछि ८ गतेका केही पत्र चलानी गरिएका छन् ।

भदौ ५ गतेसम्म क्रमिकरूपमा रहेको चलानी पुस्तिकामा भदौ ८ पछि चलानी भएका पत्रको दर्ता मिति तलमाथि गरी राखिएकाले पनि गाई मगाईको पत्र रातारात तयार गरेको पुष्टी हुने जिससकै एक कर्मचारीले बताए । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्