काठमाडौंमा आजदेखि बिजुली बस सञ्चालन हुँदै

काठमाडौें, भदौं २३ / काठमाडौंको रिङरोडमा आज (सोमबार) देखि बिजुली बस सञ्चालन हुँदैछ ।सुन्दर यातायातले चिनियाँ कम्पनी ‘बिएके’ ले निर्माण गरेको बिजुली बस सञ्चालनमा ल्याएको हो ।

आज एक औपचारिक कार्यक्रममार्फत उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बस शुभारम्भ गर्ने सुन्दर यातायातका सञ्चालक सुरेश पोखरेलले जानकारी दिए ।
‘दुई वटा बस तयार भइसक्यो, अरु दुई वटा पनि काठमाडौं आइसक्यो, सकेसम्म चार वटै बस आजदेखि चलाउँछौँ’ पोखरेलले भने ।

हालका लागि रिङ्गरोडमा र पछि अरु थपिएपछि रिङ्गरोड बाहेका सडकमा पनि बिजुली बस सञ्चालनमा ल्याइने उनले जानकारी दिएका छन् । सुन्दरले शुरुवाती चरणमा ४० सिट र ३० जना उभिएर यात्रा गर्न मिल्ने दुई वटा बस र ३० सिट तथा २० जना उभिएर यात्रा गर्न मिल्ने दुई वटा बस सञ्चालन गर्ने तयारी गरेको छ ।

नगदरहीत भुक्तानीका लागि सुन्दर यातायातले ‘काठमाडौ सुन्दर कार्ड’ प्रयोगमा ल्याउँदैछ । यो कार्ड २१५ रुपैयाँमा खरिद गर्न सकिने जनाइएको छ । त्यसमा २६५ रुपैयाँ व्यालेन्स हुनेछ । यो बाहेक विद्यार्थी, अपाङ्ग, बृद्धको लागि पनि छुट कार्ड हुने सुन्दर यातायातले जनाएको छ ।

त्यस्तै प्रभु पे, आईएमई पे र खल्तीबाट पनि भाडा तिर्न सकिने पोखरेलले जानकारी दिएका छन् । गाडीमा सिसी क्यामरा, जिपिएस, ह्याङ्गरलगायतको सुविधा रहने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्