सिंहदरबार र हैदरावाद हाउसबाट एकैसाथ पेट्रोलियम पाइपलाइनको उद्घाटन

काठमाडौं, भदौ २४ / भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियप पाइपलाइन परियोजनाको आज (मंगलबार) उदटन गरिने भएको छ ।

आज दिउँसो १२ः१५ बजे नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’ मार्फत एकै साथ स्वीच थिचेर परियोजनाको उद्घाटन गर्नेछन् ।

उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रने छ । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइने छ । मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ ।

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ ।

पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्य समेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ ।

पाइपलाइन परियोजना उद्घाटनको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूर्ण भएको नेपाल आयल निगमले जनाएको छ । परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगञ्जमा हुनेछ । यसका लागि निगमको उच्च अधिकारी सम्मिलित टोली अमलेखगञ्ज पुगिसकेको छ ।

निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्