खुलेन अझै दशैंको अग्रीम टिकट

काठमाडौं, भदौ २४ / दशैंलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ खोल्ने तयारी अहिलेसम्म सुरु भएको छैन । अघिल्ला वर्षमा दशैं शुरु हुनुभन्दा एक महिना पहिलेनै यातायातको अग्रीम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन २० दिन मात्रै बाँकी हुँदा खुल्ने तयारी देखिएको छैन । गएका वर्षमा दशैंको समयमा भाडा वृद्धि नगरी टिकट नखोल्ने व्यवसायी अडिग रहेका थिए भने यो वर्ष पनि विभिन्न बहानामा समयमा टिकट नपाउने हो कि भन्ने चिन्ता यात्रुमा छ ।

समयमा टिकट बुकिङ गरेपछि मात्रै यात्रु ढुक्क हुनसक्ने यातायात क्षेत्रका अभियन्ता राम थापाले बताए । हिन्दू धर्मालम्बीको सबैभन्दा ठूलो चाड मानिने दशैंमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुने गर्छन् ।समयमै टिकट खोल्दा चाहने व्यक्ति समयमा नै घर फर्कन सक्ने उनले बताए । उनले भने, ‘अग्रीम टिकट नखोल्दा दशैंको मुखमा खोल्दा यात्रु दोब्बर–तेब्बर तिरेर समेत घर जान बाध्य हुनुपर्ने अवस्था आउँछ ।’

दशैंका समयमा धेरै यात्रु आवतजावत गर्ने हुँदा यात्रुको सुरक्षाका विषयमा समेत सरकार र व्यवसायी गम्भीर हुनुपर्ने थापाले बताए । दशैंका समयमा काठमाडौं उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्को जिल्लामा धेरै यात्रु जाने गरेका छन् ।क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराव अवस्थाका सवारी साधनका कारण दुर्घटनाको जोखिम रहन्छ । उनले भने, ‘कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पुर्‍याउने भन्ने अहिलेदेखि नै तयारी हुनुपर्छ ।’

यातायात व्यवस्था विभागले यो साता मात्रै सरोकारवाला निकायसँगको छलफल शुरु गरेको छ । आगामी साता सरोकारवाला निकायसँग विभागमा बस्ने बैठकले अग्रीम टिकट कहिलेदेखि खोल्ने भन्ने निर्णय हुने महानिर्देशक गोगनबहादुर हमालले बताए । व्यवसायीले दिने सवारी साधनको संख्या र सम्भावित यात्रुको संख्याका आधारमा निर्णय हुने उनले बताए । उनले भने, ‘उहाँहरु सबै तथ्याङ्क लिएर आगामी साता आउनु भएपछि मात्रै थप निर्णय हुनेछ ।’

सबैभन्दा बढी यात्रुको चाप काठमाडौंमा रहेकाले पहिले काठमाडौंमा रहेका सवारी साधनको संख्या र अवस्थाका बारेमा अध्ययन हुने महानिर्देशक हमालले बताए । यहाँ रहेका सवारी साधन पर्याप्त नहुँदा काठमाडौं बाहिरका रुटमा चलेकालाई समेत काठमाडौं ल्याएर सञ्चालन गरिने उनको भनाइ छ ।सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने विभागको योजना छ । विगतमा भएका गल्ती यस वर्ष हुन नदिइने उनले बताए । उनले भने, ‘एउटा गाडी भनेर अर्कोमा सिट हुने, छतमा यात्रा गर्नुपर्ने अवस्था यो वर्ष आउन दिइने छैन ।’

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यस वर्ष दशैंका लागि भनेर एउटा पनि नयाँ बस व्यवसायीले नकिनेको बताए । हरेक वर्ष दशैँ अगाडि झण्डै ५००–६०० सम्म नयाँ बस खरिद हुने गरेको थियो । नयाँ बस नहुँदा अहिले भइरहेकै बसबाट व्यवस्थापन गर्नुपर्ने महासङ्घलाई चुनौती रहेको उनले बताए ।

पहिले महासङ्घको देशभर सञ्जाल भए पनि अहिले त्यो नरहनु पनि यातायात व्यवस्थापनको चुनौतीका रुपमा रहेको छ । देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम रहेको उनले बताए । उनले भने, ‘दशैं अगाडि नै सबै सडक मर्मत गरिसक्न हामी सरकारलाई अनुरोध गरिरहेका छौँ ।’यस वर्ष भाडा वृद्धि नहुँदासम्म अग्रीम टिकट नखोल्ने भनेर महासङ्घले अडान नलिएको उनले बताए । भाडा समायोजन नियमितरुपमा भइरहनु पर्छ भनेर महासङ्घले निरन्तर आवाज भने उठाइरहेको उनले बताए ।

सरकारले ३५ प्रतिशत भाडा पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारी साधनलाई आवश्यक अन्य सामग्री र जनशक्तिलाई दिइने तलबलगायतका सुविधाका आधारमा निर्धारण हुँदै आएको छ ।सात वर्षमा बजार मूल्य, बैंकको ब्याजदरमा वृद्धि भइरहेकाले सरकारले त्यसका आधारमा नियमितरुपमा समायोजन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘६५ प्रतिशतलाई आधार बनाएर सात वर्षदेखि भाडा समायोजन भएको छैन ।’

अग्रीम टिकट खोल्ने विषयमा नै गत शुक्रबार भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको अध्यक्षतामा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलगायत सरोकारवालाको बैठक भएको थियो ।


प्रतिक्रिया दिनुहोस्