पहिरोले आमा–छोराको ज्यान लियो, चार पाहुना बेपत्ता

काठमाडौं भदौ २७ / रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा पहिरोले पुरिएर आमा–छोराको ज्यान गएको छ भने पाहुना आएका चार जना बेपत्ता भएको छ ।बिहीबार र शुक्रबारको अविरल भारी बर्षाका कारणले छेर्लोवाङ पहिरोले घर पुरिंदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिला आर्चायका अनुसार थवाङ गा.पा. २ छेर्लोवाङका २८ वर्षीया थीरकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढामगरको मृत्यु भएको हो ।

यस्तै पाहुना आएका अन्य चार जना बेपत्ता भएको आशंका गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म आमा–छोराको मात्र शव फेला परेको अन्यबारे केही पत्ता नलागेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिएका छन् । पहिरोमा बेपत्ता भएका चार जनाको खोजी कार्य जारी भइरहेको आचार्यले बताएका छन् ।

सदरमुकामबाट ७४ किलोमिटर उत्तरमा रहेको उक्त स्थानमा जिल्लाबाट उद्दारको लागि जान कठिन छ । बर्षातका कारण सडक अवरुद्ध भएकाले हिंडेर पुग्न एक दिनभर लाग्ने प्रहरीको भनाई छ ।

स्थानीयबासीले राति करिव २ बजेतिर ठूलो आवाज आएको सुनेपछि प्रहरीलाई खवर गरेका थिए । त्यतिबेला पहिरोले घर पुरिसकेको थियो । सो गाउँ एकान्त ठाउँमा रहेको प्रहरीको भनाई छ ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय थवाङ, प्रहरी चौकी खरिबोट रानागाउँ र स्थानीयवासीको सहयोगमा उद्दार कार्य जारी रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्