ताप्लेजुङमा डेङ्गुबिरुद्ध सचेतना अभियान सुरु

प्रयास लिम्बू ताप्लेजुङ, भदौ २८ / ताप्लेजुङमा पनि डेङ्गुको सङ्क्रमण देखिन थालेपछि डेङ्गुविरुद्ध सचेतना अभियान सुरु गरिएको छ । डेङ्गु रोगबाट बच्न तथा यसको सङ्क्रमण फैलन नदिने उद्देश्यले सचेतना अभियान सुरु गरिएको हो । तीन दिनअघि जिल्लामा पहिलो पटक एकजना महिलामा डेङ्गुको सङ्क्रमण भएको भेटिएको थियो ।

हिमाली जिल्लामा पनि डेङ्गुको सङ्क्रमण भेटिए पछि शनिबारदेखि सिरिजङ्घा गाउँपालिकाको सिनाम माध्यमिक विद्यालयले डेङ्गुविरुद्ध सचेतना अभियान थालेको हो । सिनाम माध्यमिक बिद्यालयका शिक्षक गणेश भण्डारीका अनुसार बिद्यार्थीलाई समूहमा बिभाजन गरी डेङ्गु रोगबाट बच्न सकिने उपाय र रोग लागिसकेपछि गर्नुपर्ने प्राथमिक कार्यमा बारेमा जानकारी गराइएको थियो ।
भण्डारीले बिद्यार्थीमार्फत अभिभावकसम्म डेङ्गु बिरुद्ध अभियानको सन्देश प्रवाह हुने भएकोले बिद्यार्थीलाई समूहमा बिभाजन गरी प्राथमिक जानकारीहरु गराएको बताउनुभयो । उहाँका अनुसार स्थानीय जुनियर रेडक्रस सर्कलको नेतृत्वमा ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ भन्ने अभियान सञ्चालन गरिएको थियो । अभियानअन्तर्गत बिद्यालय परिसरमा खाल्डाखुल्डीमा जमेको पानी तथा फोहोर व्यवस्थापन गर्ने, लामखुट्टेका सम्भावित बासस्थानहरु फोहोर थुपारेको ठाउँ, पानी जमेको वा राखिएको ठाउँ र खाल्डाखुल्डी समेतको व्यवस्थापन गरिएको थियो ।


बिद्यार्थीलाई लामखुट्टेबाट बच्न सकिने उपायका बारेमा प्रारम्भिक जानकारी दिएर उनीहरुलाई लामखुट्टेका सम्भावित बासस्थानहरु नष्ट गर्ने अभ्यास गराइएको बिद्यालयका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले जानकारी दिनुभयो । हाम्रै जिल्लामा एक बिरामीलाई परीक्षण गर्ने क्रममा डेङ्गुको सङ्क्रमण फेला परेपछि त्यसबिरुद्ध सचेतनामूलक कार्यक्रम थालिएको गौतमले बताउनुभयो । डेङ्गु बिरुद्धको सचेतनामूलक कार्यका लागि बिद्यार्थी सशक्त माध्यम हुन सक्ने सोचेर पनि अभियानको सुरुवात गरिएको उहाँको भनाइ छ ।


चिकित्सकका अनुसार डेङ्गु भनेको भाइरल इन्फेक्सन हो । यसलाई डेङ्गी पनि भन्ने गरिन्छ । ताप्लेजुङ जिलला अस्पतालका प्रमुख चिकित्सक डाक्टर सोनिङ लामाका अनुसार डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको ज्वरो हो । डेङ्गुको सङ्क्रण सरुवा रोग भएकाले सबैले सचेतता अपनाउनु राम्रो हुने लामाले बताउनुभयो ।

उहाँका अनुसार डेङ्गु लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गरेको छ । विषेशगरी जम्ने टिनका डब्बाहरू, रङ्गका खाली डब्बा, थोत्रो टायर, अलकत्र वा मट्टितेलका खाली ड्रमहरू, फूलदानी, गमला, पानीका ट्याङ्की आदिमा डेङ्गुले फूल पार्ने हुनाले यसमा नियन्त्रणको कार्य गर्नुपर्ने चिकित्सक बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्