तप्लेजुङमा बाल दिवसको अबसरमा शिक्षक विद्यार्थी सम्मानित

प्रयास लिम्बू ताप्लेजुङ, भदौ २९ / ताप्लेजुङमा बाल दिवसका अवसरमा शिक्षक, बिद्यार्थी र निवृत निवृतउन्मुख शिक्षकलाई एकसाथ पुरस्कृत तथा सम्मान गरिएको छ । दिवसका अवसरमा आइतबार फुङ्लिङ नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी शिक्षक र विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरेको हो ।


राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम राष्ट्रिय बाल दिवसको अवसर पारेर गरिएको फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो । नगरप्रमुख प्याकुरेलका अनुसार गतवर्षको एसईई परीक्षामा सर्बोत्कृष्ट अङ्क ल्याउने सामुदायिक तथा संस्थागत बिद्यालयका एक÷एक जना छात्र तथा छात्रा, कक्षा ८ को परीक्षामा सर्बोत्कृष्ट अङ्क ल्याउने सामुदायिक तथा संस्थागत बिद्यालयका एक÷एकजना छात्र तथा छात्रा र नगरपालिका क्षेत्रमा उत्कृष्ट हुने सामुदायिक तथा संस्थागत बिद्यालयमा कार्यरत शिक्षक तथा सेवा निवृत÷निवृतउन्मुख शिक्षकलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।


एसईई परीक्षामा सर्बोत्कृष्ट अङ्क ल्याउने भानुजन माध्यमिक विद्यालयका भुवन श्रेष्ठ र दीक्षा पौडेल तथा संस्थागत बिद्यालयतर्फ क्रमशः लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कूलका बिशल खतिवडा, कञ्चनजङ्घा आवासीय माविका रिया निरौला पुरस्कृत भएका छन् । पुरस्कृत विद्यार्थीलाई जनही दुई हजार ५०० रुपियाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको फुङ्लिङ नगरपालिका शिक्षा शाखाले जनाएको छ ।


शाखा प्रमुख दुर्गाप्रसाद पौडेलका अनुसार कक्षा ८ को नगर स्तरीय परीक्षामा उत्कृष्ट अङ्क ल्याउने लिटलबुद्ध बोर्डिङका सिम्रन कार्की, कञ्चनजङ्घाका युगल दर्जी सिवा, नवज्योति बोर्डिङ स्कूलका रीचा आचार्य, अक्सफोर्ड मोडल इङ्लिस बोर्डिङका दीक्षा लिम्बू र सोनिया केसी तथा भानुजन माविका एलिन पौडेल र इक्सा देवानलाई पुरस्कृत गरिएको हो । उहाँहरुलाई जनही एक हजार ५०० रुपियाँका साथ प्रमाणपत्र बितरण गरिएको थियो ।


यस्तै उत्कृष्ट प्रशासन, लगनशील कार्य सम्पादन र अनुशासित जवाफदेहिता बहन गरेको भन्दै ताप्लेजुङ बुद्ध बोर्डिङ स्कूलका प्रिन्सिपल इन्द्रकुमार गुरुङ, सिद्धकाली मावि दोखुका प्रधानाध्यापक अमरकुमार राई, भानुजन माविका शिक्षक मैयादेवी थापा, वीरेन्द्र मावि देवलिङ्गेका शिक्षक पुन्यप्रसाद भट्टराई, महाकाली प्रावि फुरुम्बुका तेजबहादुर श्रेष्ठ र याङ्लिजुङ प्रावि फुङ्लिङका तिलरुपा विश्वकर्मालाई प्रशंसापत्र बितरण गरिएको छ । फुङ्लिङ नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक तथा फुनपा ८ का वडाध्यक्ष पदमसुन्दर पालुङ्वाले उत्कृष्ट कार्य सम्पादन गर्ने बिद्यालयका शिक्षकलाई सम्मान गरिएको जानकारी दिनुभयो ।


नगरपालिकाले सेवा निवृत शिक्षक गणेशबहादुर मगर, नरनाथ भट्टराई र नरेन्द्र गुरुङसहित निवृतउन्मुख अर्थात सेवाबाट अवकास हुन लागेका शिक्षकहरु क्रमशः दुर्गाप्रसाद पौडेल, तुलसी न्यौपाने, दिलबहादुर विश्वकर्मा र धीरमाया इजमलाई दोसल्ला तथा कदरपत्र बितरण गरेको छ । नगरप्रमुख प्याकुरेलले अर्को वर्षबाट उत्कृष्ट बिद्यालय समेतको छनोट गरी एक सामुदायिक र एक संस्थागत बिद्यालयलाई समेत पुरस्कृत गर्ने योजना रहेको सुनाउनुभयो ।

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जिल्लाभरबाट उत्कृष्ट छनोट गरी सामुदायिकतर्फ सिरिजङ्घा गाउँपालिकाको सिनामस्थित सिनाम माविलाई नगद दुई लाख र संस्थागततर्फ फुङ्लिङ नगरपालिकास्थित लिटलबुद्ध बोर्डिङलाई नगद एकलाख रुपियाँद्वारा पुरस्कृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्