खारेजीमा परेका म्यानपावरलाई दायित्व फरफारक गर्न निर्देशन

काठमाडौं, ३० भदौ / वैदेशिक रोजगार विभागले बैंक ग्यारेन्टी र नगद धरौटी थप गर्न नसकी खारेजीमा परेका सम्पूर्ण म्यानपावर कम्पनीलाई १५ दिनभित्र संस्थाको विगतको दायित्व फरफारक गर्न निर्देशन दिएका छन् ।

विभागले आइतबार एक सर्कुलर जारी गर्दै खारेजीमा परेका म्यानपावरले अहिलेसम्म वैदेशिक रोजगारीमा पठाइएका व्यक्तिको सम्पूर्ण विवरण विभागमा पेश गर्न निर्देशन दिएको हो ।वैदेशिक रोजगार ऐन, २०६४ को संशोधनअनुसार धरौटी वृद्धि गर्न नसकेपछि ३०३ म्यानपावर स्वतः खारेजीमा परेका थिए । सरकारले ऐन संशोधन गरी म्यानपावरको धरौटी दुई करोड रुपैयाँदेखि छ करोड रुपैयाँसम्म वृद्धि गरेको थियो ।

त्यसैगरी आगामी दिनमा विगतको संस्थाको नामबाट वैदेशिक रोजगारसम्बन्धी नयाँ एवं पूराना कुनै पनि कार्य नगर्न–नगराउन विभागले सूचित गराएको छ । विभागले व्यक्तिसँग लिएको रहदानी र नगद फिर्ता गर्न पनि ती संस्थालाई निर्देशन दिएको छ ।

त्यस्तै, विदेशी रोजगारदाता कम्पनीसँग लिएको मागपत्र बमोजिमको जनशक्ति आपूर्ति गर्न नसक्ने व्यहोरा सम्बन्धित रोजगारदातालाई गराउन, प्रयोगमा ल्याउन नसकिने भएका प्रमाणीकरण गरिएको मागपत्रबारे सम्बन्धित कूटनीतिक नियोगलाई जानकारी दिन पनि आग्रह गरेको छ ।

यसैगरी, नयाँ मागपत्र नल्याउन एवं प्रमाणीकरण नगराउन, कार्यालयको नाममा राखिएको बोर्ड हटाउन, कर्मचारीलाई दिएको परिचयपत्र रद्द गर्न, संस्थासँग सम्बन्धित मुद्दा तथा उजुरी तत्काल फरफारक गर्न पनि निर्देशन दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्