पर्यटन मन्त्री भट्टराईले उपलब्ध गराएको रकम बालकलाई हस्तान्तरण प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार १३:२० प्रयास लिम्बू ताप्लेजुङ, भदौ ३० / आफ्नो जन्मदिनको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका दृष्टि बिहीन दम्पतिका एक सन्तानलाई दिने घोषणा गरेको २० हजार रुपैयाँ सोमबार हस्तान्तरण गरिएको छ । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङ लिम्बूले फक्ताङ्लुङ गाउँपालिका वडा नं. ६ लेलेप (साविक लेलेप ७) का दृष्टिबिहीन दम्पति कुबिर र दिलकुमारी राईलाई हस्तान्तरण गरेका छन् । लेलेपका वडाध्यक्ष छोवाङ शेर्पा (चन्द्र), पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ र नवज्योति आवासीय माविका प्रिन्सिपल तेजबहादुर भट्टराईसहितको उपस्थितिमा दृष्टिबिहीन दम्पतिका छोरा समिरको पढाइका लागि यो रकम हस्तान्तरण गरिएको हो । मन्त्री भट्टराईले आफ्नो जन्मदिनको अवसरमा गत भदौ २१ गते कुबिर र दिलकुमारीका ४ वर्षीय छोरा समिर राईको पठनपाठनका लागि २० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो । उहाँको जन्मदिन भदौ २२ गते पर्छ । दृष्टिबिहीन दम्पतिका छोरा समिर आफैं पनि न्यून दृष्टिको समस्या खेपिरहेका छन् । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको १४ औं स्थापना दिवसको अवसरमा भदौ २१ गते काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले समिरका अभिभावकलाई रकम हस्तान्तरण हुनेगरी गाउँपालिका अध्यक्ष एभेङलाई रकम दिनुभएको थियो । दृष्टिबिहीन दम्पतिका छोरा समिरलाई नवज्योति आवासीय माविले खान र बस्ने सुबिधासहित अध्ययन खर्च समेत नलिइकनै अध्यापन गराइरहेको बिद्यालयका प्रिन्पिसल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पढाइका लागि समिर बिद्यालयमा भर्ना हुँदा कहिँकतैबाट स्रोत जुट्ला भन्ने थियो । दृष्टिबिहीन समिरका बुबाआमा सांगीतिक कार्यक्रममा सहभागी भएर पेट पालिरहेको र दृष्टिविहीन दम्पत्तिका ४ वर्षीय बालक समिरलाई सँगै लिएर जानसक्ने अवस्था पनि नभएको परिवेशमा बिद्यालयले समिरलाई खान बस्नसहित अध्ययन सुबिधा उपलब्ध गराएको भट्टराईले जानकारी दिनुभयो । उहाँले बिद्यालय पोशाक र शैक्षिक सामग्री खरिद गर्ने रकम कसैले व्यहोरेमा नवज्योतिले असाह्य बिद्यार्थीको पठनपाठनमा सहोग गर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष एभेङले दृष्टिबिहीन दम्पतिका सन्तान समिरको पढाई तथा बसोबासको व्यवस्थापन गर्न सकेकोमा नवज्योति बिद्यालयप्रति आभार प्रकट गर्नुभयो । उहाँले गाउँ कार्यपालिकाको बैठकमार्फत उनको पढाईका लागि गाउँपालिकाका तर्फबाट प्रदान हुनसक्ने सहयोगका बारेमा शिघ्र निर्णय लिने पनि जानकारी दिनुभयो । उहाँले समिरको जीवन बीमा गरिदिने नवज्योति बिद्यालयको प्रस्ताव स्वीकार गर्दै आगामी आर्थिक वर्षको प्रिमियम बराबरको रकम आफ्नोतर्फबाट उपलब्ध गराउने घोषणा गर्नुभयो । बिद्यालयका प्रिन्सिपल भट्टराईका अनुसार समिरको करिव २ लाख बराबरको जीवन बीमा गरिदिने योजना सुनाउनुभयो । यो रकम बराबरको रकमको बीमा गरेमा वार्षिक करिव साढे १४ हजार रुपैयाँ बराबर खर्च हुने बताइन्छ । समिरको उच्च शिक्षा अध्यययनका लागि बीमा गरिएको रकम सहयोगी बन्ने बिद्यालयको विश्वास रहेको छ ।