बिरामी बोकेको जिप खस्दा २ महिने बालकसहित ६ बेपत्ता

संखुवास असोज १ / संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १० ३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एकै परिवारका तीन जना छन्।

धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नम्बरको जिप अरुण नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार जिप खस्दा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन्। त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक पनि बेपत्ता छन्।

जिप अरुण नदीमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालन गरिएको थियो। केही दिनदेखिको वर्षाले उर्लिएको अरुण नदीमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए। लामाका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नुपर्छ। घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी त्याहां पुगिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्