स्थापना दिवसको अवसर पारेर ताप्लेजुङमा कम्बल वितरण

प्रयास लिम्बू ताप्लेजुङ, असोज १ / नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताललाई कम्बल वितरण गरेको छ । आफ्नो ४४ औं स्थापना दिवसको अवसरमा शाखाले बुधबार जिल्ला अस्पताललाई २० थान कम्बल वितरण गरेको हो ।


जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सेवा लिन आउने विरामीलाई ओढ्नका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले न्यायो कम्बल उपलब्ध गराएको रेडक्रसका शाखा सभापति इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । हिमाली जिल्ला भएकाले हिउँदको मौसममा निक्कै चिसो हुने हुँदा अस्पतालमा उपचार गर्न आउने बिरामीलाई शाखाले उपलब्ध गराएको कम्बलले राहत पुग्ने विश्वास राखिएको शाखा सभापति गुरुङले बताउनुभयो ।


अस्पतालमा उपचार गराउन आउने बिरामीले प्रयोग गर्नेगरी रेडक्रस शाखाले उपलब्ध गराएको न्यानो कम्बल अस्पताललाई हस्तान्तरण गर्नुहुँदै फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले बिरामीलाई ठूलो राहत पुग्ने बताउनुभयो । नगरप्रमुख प्याकुरेलले जिल्ला अस्पतालमा उपचार गराउन आउने बिरामीको स्वास्थ्यलाई दृष्टिगत गरी कम्बल उपलब्ध गराएर उदाहरणीय कार्य गरेकोभन्दै रेडक्रस शाखाको प्रसंसा समेत गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी ज्ञानेन्द्रप्रसाद फुयाँल लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्