प्रहरी इन्काउन्टरमा मारियो राँगो

काठमाडौं असोज ७ / मासुका लागि तराई मधेसबाट ल्याइएको एक राँगोले वितण्डा मच्चाएपछि मङ्गलबार बिहान प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले उक्त राँगो मारेको हो ।राँगोले वितण्डा मच्चाउन थालेपछि नियन्त्रणमा लिन न्यूरोडको खिचापोखरीमा घेरा हालेर प्रहरीले मार्नुपरेको जनसेवाका प्रमुख डीएसपी बासु पाठकले जानकारी दिएका छन् ।

फाईल तस्विर

विष्णुमती करिडोर नजिकै राँगो काट्ने स्थान बधशाला छ । डीएसपी पाठकका अनुसार तराईबाट ल्याइएको राँगो विष्णुमती करिडोरबाट रन्थनिएर भागेको हुनुपर्छ । राँगो छट्पटिएर भाग्ने क्रममा तीन जना सामान्य घाइते समेत भएका छन् भने एक ट्याक्सीमा समेत क्षति पुगेको छ । यसअघि पनि काठमाडौँमा राँगाले वितण्डा मच्चाउँदै आएका थिए । २०७५ फागुन ११ गते राँगोले वितण्डा मच्चाउँदा चन्द्रगिरी नगरपालिकामा २ जनाको मृत्यु भएको थियो ।

त्यसबेला आक्रमण गर्ने राँगोलाई प्रहरीले दहचोक पुर्याएर मारेको थियो । राँगोको आक्रमणबाट ७० वर्षीय मानवीर महर्जन घटनास्थलमै मृत्यु भएको थियो भने नायब सुब्बा सानुकान्छा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो ।यस्तै २०७१ मंसिर १५ गते राजधानीको बुद्धनगरस्थित हृयाम्स अस्पताल भित्र भैंसी पसेर वितण्डा मच्चाएको थियो । २ घण्टासम्म पनि भैंसीलाई समात्न नसकेपछि प्रहरीले भैसीलाई गोली हान्नुपरेको थियो ।

त्यतिबेला अस्पतालभित्रै भैंसी दौडिएर ओपीडी कक्षमा प्रवेश गरेपछि बिरामी र कुरुवाहरुको भागाभाग भएको थियो ।यस्तै २०७३ असार ९ गते एउटा राँगो त्रिपुरेश्वरबाट मच्चिदै सुन्धारातर्फ दौडियो । राँगो अनियन्त्रित तबरले भागेको देखेपछि पैदलयात्रीहरुको भागाभाग नै भएको थियो । त्यतिबेला एक दर्जनभन्दा बढी पैदलयात्रुलाई राँगोले हानेर घाइते बनाएको थियो ।

किन हुन्छ राँगो आतङ्क ?

काठमाडौँमा मासुको प्रयोगका लागि उपत्यकाबाहिरबाट दैनिकजसो रागाँभैसी ल्याउने गरिन्छ । प्रहरीका अनुसार थानकोट नाकाबाट मात्रै दैनिक १०० वटा भन्दा बढि राँगाभैसी उपत्यका भित्रिने गर्छन् ।दशैंको बेला तराइबाट अन्दाजी १५ वटा ट्रकभन्दा बढीमा राँगाभैसी भित्रिने र अरुबेला ८,९ वटा ट्रकमा दैनिक राँगाभैसी भित्रिने गरेको महानगरीय प्रहरी प्रभाग नाङढुङ्गाका प्रमुख इन्सपेक्टर ज्ञानबहादुर खड्काले बताए ।

इन्सपेक्टर खड्काले भने, ‘एउटा ट्रकमा १६, १७ वटा राँगाभैसी अट्ने गर्छ । सोही आधारमा दशैंको बेला २५० वटा राँगाभैसी उपत्यकामा भित्रिने गर्छ । अरुबेला १०० वटाभन्दा बढी भित्रिने गर्छ ।’ट्रकमा कोचेर जथाभावी रुपमा ल्याइने राँगाभैसी कालिमाटीस्थित विष्णुमति करिडोरमा ल्याएर झारिन्छ । तराइदेखि रन्थनिएर आएको राँगो शहर पसेपछि आतंक मच्चाउने गरेको व्यापारीहरु भन्छन् ।


प्रतिक्रिया दिनुहोस्