सरकारी जग्गालाई किर्ते गरी कम्पनीको नाममा प्रमाण पुर्जा बनाएको अभियोगमा ६ जना पक्राउ,


काठमाडौं, ८ /असोज चन्द्रगिरी नगरपालिका-२ को कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी
जग्गालाई किर्ते कागजातहरु बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको
अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा त्रिपुरा सुन्दरी गाउँपालिका-३ मुलपानी घर भएका ५० वर्षीया मिना कुमारी थापा, उक्त हाउजिङका संचालक काठमाडौं तारकेश्चर नगरपालिका-१० मा डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-५ दानसिङका ४१ वर्षीय राम कुमार सुयाल थापा, ललितपुर गोदावरी नगरपालिका-१४ वाडेगाउँ बस्ने कैलाली चुरे गाउँपालिका-६ घर भएका ४६ वर्षीय राम बहादुर शाह, काठमाडौं महानगरपालिका-१६ बस्ने नागार्जुन नगरपालिका-७ घर भएका तत्कालिन मालपोत अधिकृत ५५ वर्षीय शिव प्रसाद रिमाल, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने गोरखा सिरानचौक गाउँपालिका-१ घर भएका कानुन व्यवसायी ५१ वर्षीय बाबुराम शर्मा रेग्मी र काठमाडौं बुढनिलकण्ठ नगरपालिका-१२ कपन बस्ने ओखलढुङगा चिसंखुगढी गाउँपालिका-८ घर भएका ४६ वर्षीय योगेन्द्र पोखरेल रहेका छन् ।


उक्त सरकारी जग्गालाई राम बहादुरको योजनामा मिनाको नाममा नक्कली जग्गाधनी
प्रमाण पूर्जा बनाइ उक्त जग्गालाई कम्पनीको नाममा विक्रीको करारको कागजातहरु तयार पारेको
अनुसन्धानबाट खुल्ला आएको छ । पक्राउ परेका ६ जनालाई लिखत सम्बन्धि कसुर तथा संगठित अपराध मुद्दामा आवश्यक कारवाही लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पेश गरिएको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्