अरिंगाल पोल्न जाँदा फट्केबाट खसेर एक जना बेपत्ता

बेनी, असोज ९ / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मिस्त्रीखोलामा फट्केबाट खसेर एक जना बेपत्ता भएको छ। अरिंगाल पोल्न भनेर गएका पर्वतको जलजला गाउँपालिका–५ शालीजाका भविन्द्र गर्बुजा बुधबार साँझ बेपत्ता भएका हुन् ।

स्थानीयका अनुसार गर्बुजा निलगिरी र रेले खोलाको दोभानको जंगलमा अरिंगाल पोल्न गएका थिए । जिल्ला समन्वय समितिका सदस्य मेखबहादुर गर्बुजाले मिस्त्रीखोलामा लगाइएको काठको फड्के पार गर्ने क्रममा खोलामा खसेको बताए । खोलामा राखिएको फड्के बगाएपछि फसेका तीनजनालाई नेपाली सेनाको श्रीबक्स गुल्मको नारच्याङ बेसक्याम्पका सैनिक र मिस्त्रीखोला जलविद्युत आयोजनाको सहयोगमा राति उद्दार गरिएको उनले बताए ।

बेपत्ता गर्बुजा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी हाइ हिमाल कन्ट्रक्सनका मजदुर हुन् । अहिले प्रहरीले उनको खोजी जारी राखेको छ ।


प्रतिक्रिया दिनुहोस्