खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव- अर्थमन्त्री खतिवडा

काठमाडौं / अर्थमन्त्री डा.युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिएका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ वार्षिक साधारणसभामा उनले सबै खुद्रा व्यापारी एक भएर सहकारी ढाँचामा व्यवसाय गर्न आग्रह गरे ।‘अब खुद्रा व्यापारी पनि सङ्गठित हुनुपर्छ, सहकारी ढाँचामा व्यवसाय थाल्नुपर्छ’, उनले भने, ‘सहकारी ‘मोडल’मा गएपछि ठूला खुद्रा बिक्रेतासँग प्रतिस्पर्धा गर्न पनि सहज हुन्छ ।’ खुद्रा व्यापारमा नेपाली पूँजीको प्रवद्र्धन गर्न यस क्षेत्रमा विदेशी लगानीमा रोक लगाइएको स्पष्ट पार्दै अर्थमन्त्रीले स्वदेशी ठूला व्यापारीसँग प्रतिस्पर्धा गर्न खुद्रा व्यापारी पनि सङ्गठित भएर लाग्नुपर्ने बताए ।

खुद्रा व्यापारमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले व्यापारिक सीमा र मर्यादाभित्र रहेर कारोवार गर्न आग्रह गरे । मन्त्री खतिवडाले कार्यक्रममा खुद्रा व्यापारमा विदेशी लगानीलाई निषेध गरिएको र यो व्यवसायमा देश कै नागरिकहरुलाई स्थान दिइएको जानकारी पनि दिए । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले खुद्रा व्यवसायीलाई व्यापारमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्