ताप्लेजुङमा कीरा नियन्त्रण गर्न विषादी वितरण

प्रयास लिम्बू ताप्लेजुङ, असोज ८ / ताप्लेजुङमा अलैँची खेतीमा संलग्न किसानलाई कीरा नियन्त्रण गर्ने विषादी वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ ताप्लेजुङले जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई कीरा नियन्त्रक विषादी विरतरण गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (अलैँची जोन) ताप्लेजुङका जिल्ला संयोजक दिनेश अधिकारीका अनुसार फक्ताङ्लुङ गाउँपालिका वडा नं. १ सावादिन, वडा नं. २ खेजेनिम र वडा नं. ३ लिङ्खिमका अलैँची किसानलाई विषादी वितरण गरिएको हो । उक्त तीन वटा वडाका करिव एक सय ५० जना किसानलाई रोगर र साफ नामक विषादी वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो ।


अलैँची टिपेपछि बोट वा बगानमा ढुसी पर्ने समस्या देखा पर्ने गरेका कारण सो ढुसी नियन्त्रण गर्ने र डाँठमा लाग्ने कीरा नियन्त्रण गर्ने दुई किसिमको विषादी किसानलाई वितरण गरिएको अधिकारीले बताउनुभयो । अलैँची जोनले यसअघि गरेको माटो परीक्षण र बालीको अनुसन्धानका क्रममा अलैँचीको पातदेखि कीरा पसेर डाँठ हुँदै गुभो खाने गरेको पाइएकाले कीरा नियन्त्रण गर्नमा किसानलाई सहयोग गर्ने योजनाअनुसार विषादी वितरण गरिएको उहाँले बताउनुभयो ।


सेवा लिनमा पनि स्थानीय किसानहरु अत्यन्तै उत्साहित भएका अलैँची जोनले जनाएको छ । माटो परीक्षण, बाली अनुसन्धान, कीटनासक विषादी वितरण र खेती प्रविधि तथा प्रणालीसम्बन्धी कार्यालयले सञ्चालन गर्ने कार्यक्रमहरुमा किसानले खासै चासो नदिने गरेकामा अहिले अपेक्षाभन्दा बढी किसानको आकर्षण बढेको पनि जोनका संयोजक अधिकारीले बताउनुभयो । मङ्गलबार फक्ताङ्लुङ गाउँपालिकाको सिंवाबजारमा एकसय जनालाई विषादी वितरण गर्ने लक्ष्य राखेर आयोजना गरिएको कार्यक्रममा करिव डेढ सय किसान सहभागी भएका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार केही समय अघि जोनले सञ्चालन गरेको माटो परीक्षण कार्यक्रममा पनि लक्ष्यभन्दा बढी किसान सहभागी भएका थिए ।


यता अलैँची जोनले प्रवाह गरेको माटो परीक्षण, विषादी वितरण जस्ता कार्यक्रमले राहत मिलेको फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनका किसान प्रदिप लिम्बूले बताउनुभयो । अलैँचीमा ढुसी कीरा लाग्ने, डाँठमा कीरा लाग्ने, फुर्के तथा डढुवाजस्ता रोग लागेर बगाननै सखाप हुन थालेको अवस्थामा अलैँची जोनले कीरा नियन्त्रण गर्न र खेती प्रविधि लगायतमा विभिन्न ज्ञान प्रदान गरेर सहयोग गरेकोमा खुसी लागेको लिम्बूले बताउनुभयो ।

विभिन्न रोगका कारण उत्पादन घट्दै गइरहेको अवस्था र अहिले मूल्यमा आएको गिरावटले किसानमा रहेको पीडामा अलैँची जोनको कार्यक्रमले ठूलो राहत मिलेको उहाँको भनाइ छ । उहाँजस्तै जोनको कार्यक्रममा सहभागी सबै अलैँची किसान प्रभावित बनेका बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्