सुकेटारमा तीन महिनापछि उडान,फर्किदा रित्तै

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, असोज ९ गते ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि बिहीबार
उडान भएको भएको छ । प्रतिकुल मौसमका कारण अवरुद्ध बनेको सुकेटार विमानस्थलमा
नेपाल वायुसेवा निगमको जहाजले तीन महिनापछि उडान भरेको हो । निगमका अनुसार
नियमित तालिकाअनुसार बुधबार हुने उडान मौसमकै कारण रद्द हुन गएको र सोही
उडानलाई बिहीबार गराइएको हो ।

नेपाल वायु सेवा निगमले प्रत्येक हप्ताको सोमबार, बुधबार र शनिबार तीन दिन
काठमाडौं–सुकेटार उडान सञ्चालन गर्ने गरेको छ । उक्त उडान तालिका भए पनि
मौसमको कारण देखाई गत जेठ २९ गतेदेखि सुकेटारमा उडान ठप्प भएको थियो
। भदौ महिनायता मौसममा सुधार आए पनि यात्रु नभएपछि उडान सञ्चालनमा ल्याउन
नसकिएको निगमले जनाउँदै आएको थियो । बिहीबार भने काठमाडौंबाट नौ
जना यात्रु भएकाले उडान भरेको र यहाँबाट काठमाडौंका लागि एकजना पनि यात्रु
नभएको ताप्लेजुङस्थित निगमको स्टेशन इन्चार्ज राजु कार्कीले जानकारी दिनुभयो

स्टेशन इन्चार्ज कार्कीले यात्रु नभए पछि जहाज रित्तै फर्किएको जानकारी
दिनुभयो । उहाँले अब यात्रु भएमा तालिका अनुसार नियमित उडान हुने बताउनुभयो
। काठमाडौंमा यात्रुले सम्पर्क गरिरहेका र यहाँबाट काठमाडौं लागि भने
अहिलेसम्म यात्रु शून्य नै रहेका पनि कार्कीले जानकारी दिनुभयो । उहाँले
काठमाडौंबाट जहाज भरी यात्रु हुने भएमा उडान नियमित सञ्चलन गर्ने निगमको
तयारी रहेको सुनाउनुभयो । यात्रुको अभाव नभएमा हाल उडान भर्दै आएको
ट्विनअटर मात्र नभई चाइनिज जहाज वाई–१२ ९थ्(ज्ञद्द० समेत सञ्चालनमा ल्याउने
निगमले जनाएको छ । निगमले सुकेटारमा एक महिना वाई–१२ जहाजको परीक्षण
उडान गरेको थियो ।
यता दशैँ तिहारजस्ता चाडपर्व नजिकिँदा पनि उडान नहुँदा यात्रु तथा जिल्लाबासी
निरास थिए । चाडपर्व भित्रनै लाग्दा निगमले बिहीबार उडान गरेपछि भने
जिल्लाबासीमा केही खुसी छाएको पाइएको छ । जिल्ला बाहिर रहेका परिवारका सदस्य
तथा आफन्तहरु चाडपर्वमा घर फर्कनलाई सहज हुनेभन्दै उनीहरुमा खसी
छाएको हो । उडान सञ्चालनले यहाँ कार्यरत कर्मचारी पनि चाडपर्वको विदामा घर
जान पाउने भएका बताइएको छ । चाडपर्वको समयमा जिल्लाबाट बहिरिनेभन्दा
भित्रने यात्रु बढी हुने गर्दछन् ।
उता सोह्रश्राद्धको समय सुरु भएसँगै निरन्तर वर्षा भइरहेकाले उडान निश्चित हुने
अवस्था भने छैन । पर्यटकीय सिजन सुरु भएकाले दशैँ पछि भने यात्रुको कुनै कमी
नहुने पर्यटन व्यवसायी बताउँछन् । ताप्लेजुङ पर्यटकीय जिल्ला भएकाले
पर्यटकीय सिजनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने हुँदा उडान
नियमित गर्न पनि निगमसमक्ष व्यवसायीको आग्रह रहेको छ । उडानलाई निश्चित र
भरपर्दो नबनाए सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई समेत
असर पुग्ने उनीहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्