महिलाको कोठाका सामान प्रहरी नियन्त्रणमा,आरोप लगाउनेद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

काठमाडौं, १४ असोज / प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको गम्भीर आरोप लगाउने महिलाको कोठाबाट प्रहरीले जाँचबुझका लागि शंकास्पद ठहरिएका सामान नियन्त्रणमा लिएका छन् । यौन दुराचारको आरोप लागेपछि सभामुख महराले पदबाटसमेत राजीनामा दिइसकेका छन्। शंकास्पद बस्तु बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुबेदीले जानकारी दिएका छन्।

उनका अनुसार पीडित पक्षले अहिलेसम्म प्रहरीमा उजुरी दिएकी छैनन्। प्रहरीमा उजुरी गर्नु अघि पीडित महिलाको स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि उनी स्वास्थ्य परीक्षण गर्न मानेकी छैनन्। पीडित महिलाले सोचेर तथा सल्लाह गरेर निर्णय लिने प्रहरी समक्ष बताएको सुवेदीले जानकारी दिए । अरूसरह छानबिन र कारबाही हुने महान्यायाधिवक्ता अग्नि खरेलले पत्रकारहरूसँग कुरा गर्दै ुघटना भएपछि सभामुख वा ठूलो मान्छे भनिँदैन।

यस्तो अपराधमा सर्वसाधारणलाई जस्तो कानुन लाग्छ यो विषयमा पनि त्यस्तै कानुन हुन्छ। कानुनबमोजिम जे हुनुपर्ने हो त्यही हुन्छु भन्ने प्रतिक्रिया दिएका छन्। सभामुख महरा र ती महिलाबीच आइतबार बेलुकाको भएको भनिएको घटनालगत्तै महिलाले १०० फोन गरेर प्रहरी बोलाएकी थिइन्। प्रहरीले घटनास्थलको फोटो खिच्ने र सम्बन्धित शंकास्पद सामग्री बरामद गरेर फर्केको थियो। यौन दुराचारको आरोप लाग्नेमा महरा नेपालकै पहिलो उच्च पदस्त व्यक्ति हुन्।


प्रतिक्रिया दिनुहोस्