नगरपालिका सङ्घले अन्तर–सरकार सम्वाद गर्ने

प्रयास लिम्बू
ताप्लेजुङ, मङ्सिर ३० गते । नेपाल नगरपालिका सङ्घ प्रदेश १ समितिले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारकाबीच अन्तर–सरकार सम्वाद कार्यक्रम सञ्चालन गर्ने भएको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सोमबार सम्पन्न नगरपालिका सङ्घको दोस्रो पूर्ण बैठकले संबिधानमा व्यवस्था भएअनुसार सरकारका साझा अधिकारका सम्बन्धमा अन्तर–सरकार सम्बाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।


नगरपालिका सङ्घ प्रदेश १ समितिले आगामी पुस २५ गतेभित्र प्रदेश राजधानी बिराटनगरमा उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल नगरपालिका सङ्घ प्रदेश १, प्रादेशिक कार्यालयका सचिवालय संयोजक हरि थलङ्का अनुसार प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु, प्रदेश १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्यहरु, प्रदेश सभामुख, उपसभामुख, प्रदेशसभाका बिभिन्न समितिका सभापतिहरु, प्रदेशसभाका सदस्यहरु र प्रदेशभर रहेका नगरपालिकाका प्रमुख र उपप्रमुखसहितको अन्तर–सरकार सम्वाद कार्यक्रम सञ्चालन हुने छ ।


यस्तै बैठकले मुख्यमन्त्री संयोजक रहने १ नं. प्रदेशको प्रादेशिक समन्वय समितिको सदस्यमा नगरपालिका सङ्घबाट नगरपालिका सङ्घका प्रदेश संयोजक महेश बस्नेतलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय पनि गरेको छ । सङ्घका संयोजक बस्नेत इलाम नगरपालिकाका नगरप्रमुख हुनुहुन्छ । यस्तै आगामी फागुन ९ गतेदेखि १३ गतेसम्म ताप्लेजुङमा हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०७६ लाई सफल बनाउन प्रदेश १ मा रहेका सबै नगरपालिकाहरुले प्रचारप्रसार, सहभागिता र सहयोगमा कञ्जुस्याँई नगर्न अपिल गर्ने निर्णयसमेत गरेको छ ।


नेपाल भ्रमण वर्ष सन् २०२० समेतलाई टेवा पुग्नेगरी म्याराथन तथा महोत्सवको आयोजना गरिएकोले नगरपालिका सङ्घको प्रदेश कार्यसमितिमा आवद्ध सबैले सहयोग र सहभागिताका लागि प्रतिबद्धता जनाउनुभएको फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो । बैठकमा सहभागी सदस्यबीच म्याराथन तथा महोत्सवका बारेमा आफ्नो जिल्लामा पुगेर प्रचारप्रसार र सहभागिताका लागि स्थानीय समुदायलाई अनुरोध गर्ने प्रतिबद्धता समेत गरिएको प्याकुरेलले बताउनुभयो ।


यता बैठकको प्रारम्भमा पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०७६ को मूल आयोजक समितिका तर्फबाट सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक खगेन्द्र अधिकारीले महोत्सवमा सहभागिता र सहयोगका लागि प्रस्ताव गर्नुभएको थियो । भ्रमण वर्ष सन् २०२० लाई नै टेवा पुग्नेगरी ताप्लेजुङ सदरमुकाम फुङ्लिङ आयोजना गर्न लागिएको महोत्सवमा सहभागिताका लागि सङ्घको बैठकमा सहभागी विभिन्न जिल्ला अन्तर्गतका नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई अधिकारीले अनुरोध गर्नुभएको थियो । नगरपालिका सङ्घको प्रादेशकि बैठकसँगै महिला विभागको समेत बैठक बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्