बेपत्ता मन्दिराका आफन्तद्वारा खबरदारी ! प्रकाशित मिति : १२ पुष २०७६, शनिबार १७:११ ताप्लेजुङ, १२ पुस / ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाकी एक युवती बेपत्ता भएपछि उनका आफन्तले घटनाको तथ्य सुरक्षित गर्नुमा कुनै कमी नहोस् भन्दै खबरदारी सुरु गरेका छन् । गएको मङ्सिर १७ गते अर्थात २५ दिन अघिदेखि बेपत्ता बनेकी आठराई त्रिबेणी गाउँपालिका–२ फुलबारीकी मन्दिरा अधिकारीका आफन्त घटनाको तथ्यलाई जीवित राख्न र अपराधीलाई कानुनी कारबाहीमा कुनै कमी हुन नदिनभन्दै खबरदारी गर्न सदरमुकाम पुगेका छन् । बेपत्ता बनेकी १९ वर्षीया मन्दिरा प्रकरणमा पक्राउ परेका आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङका रमेश अधिकारीले आपूmले हत्या गरी मन्दिराको सवलाई तमोर नदीमा फालेको भनेर स्वीकारी सकेको अवस्थामा घटनाको तथ्य मोडमोड हुनसक्ने र अपराधी उम्कनसक्ने भन्दै पीडित परिवारले खबरदारी सुरु गरेका हुन् । पीडित परिवार अर्थात मन्दिराकी बुबा नन्दकुमार अधिकारी र काका चन्द्रप्रसाद अधिकारीसहितको टोली शुक्रबार सदरमुकाम फुङ्लिङ पुगेर स्थानीय सञ्चारकर्मी, मानवअधिकारकर्मी, जनप्रतिनिधि, जिल्लास्थित प्रहरी प्रमुख लगायतलाई भेटेर घटनाबारे सचेत गराएका छन् । हालसम्म बेपत्ता बनेकी आफ्नो साहिँली छोरी मन्दिराको हत्या गरी तमोरमा फालेको भनेर पक्राउ परेका अभियुक्तले स्वीकारेको हुँदा कुनै दबाब वा अन्य कारणले अपराधी उम्कनसक्ने आशङ्का लागेका कारण घटनाबारे सचत गराउन अर्थात खबरदारी गर्न सदरमुकाम आएको पीडित नन्दकुमारले बताउनुभयो । नन्दकुमारसहित पीडितको परिवारको टोलीले शनिबार स्थानीय सञ्चारकर्मी तथा मानवअधिकारकर्मीसँग भेटघाट गर्दै घटनाको तथ्यसहित यथार्थता पत्ता लगाउनमा सहयोग गर्न अनुरोध गरेको छ । टोलीले फुङ्लिङ नगरपालिकाका नगरप्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ र ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँललाई छुट्टाछुट्टै भेटेर हत्या गरी फालेको सव खोजी गर्न गोताखोर प्रयोग गर्न माग पनि गरेका छन् । यता चार दिनअघि पक्राउ परेका रमेशले मन्दिराको हत्या गरेको भनी बयान दिएपछि सोहीअनुसार प्रहरीले घटनाको अनुसन्धानलाई तीब्रता दिएको छ । शिक्षण पेशामा आवद्ध रहेका रमेशले एउटै थर र गोत्र भई दाजु–बहिनीको सम्बन्ध रहेपनि उनीहरुबीच प्रेमलाप मौलाएको थियो । गत चैत महिनासम्म नन्दकुमारको घरमा डेरा बसी फुलबारीकै स्थानीय गुप्तेश्वर माविमा निमावि तहको अस्थायी दरबन्दीमा रहेर रमेशले शिक्षण गर्दै आएको थिए । करिव तीन वर्षसम्म नन्दकुमारको घरमा डेरा बस्दा छोरी मन्दिरासँग अस्वाभाविक प्रेम सम्बन्धसँगै शारीरिक सम्पर्क समेत राख्दै आएका रमेशले सो सम्बन्ध पर्दाफास हुने त्रासले मन्दिराको हत्या गरेको पाइएको छ । स्थायी शिक्षक दरबन्दी समायोजनसँगै गुप्तेश्वर माविमा अर्कै शिक्षकको पदस्थापन भएपछि त्यहाँबाट बाहिरिएका रमेश गत बैशाखदेखि आठराई त्रिबेणी–३ हाङ्पाङको सरस्वती माविमा पुनः करारमा नियुक्ती भई शिक्षण पेशालाई नै अँगाल्दै आएका थिए । हाडनाताभित्र बैबाहिक सम्बन्धको सम्भावना नरहेपछि नाताले बहिनी पर्ने मन्दिराको मङ्सिर १७ गते हत्या गरेर सोही महिनाको २५ गते जिल्लाकै पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेका दाहाल थरकी एक महिलासँग रमेशले बिबाह समेत गरिसकेका थिए । रमेशले घटना लुकाउनलाई सुरुमा आपूm अपहरणमा परेको लगायत प्रपञ्चसमेत गरेका थिए । यता मन्दिरा बेपत्ताको सुक्ष्म अध्ययनमा लागेको प्रहरीले घटनाको आरोपमा रमेशलाई पक्राउ गरेपछि सो घटनाको तथ्य नजिक पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । रमेशले मन्दिराको हत्या गरेर नदीमा फालेको स्वीकारेपछि थप अनुसन्धानको क्रममा मन्दिराले लगाउने आउटर, चप्पल, कानमा लगाउने टप लगायतका सामग्री घटनास्थलबाट फेला पारेको प्रहरीले जानकारी दिएको छ । हाल शवको खोजी कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । उता पीडित परिवारले पनि घटनास्थल फुलबारी पुछार खडकुँडेबाट पाँचथर र तेह्रथुमको सिमानामा पर्ने पिनासी घाटसम्म सवको खोजी गरिएको जनाएका छन् । शव भने हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।