दाजु–बहिनीबीच प्रेम बसेपछि…

प्रयास लिम्बू
ताप्लेजुङ, १४ पुस /
हाडनाताका दाजु–बहिनीबीच प्रेमसम्बन्ध हुने गरेको यथार्थ बिरलै हुनसक्छ । तर, ताप्लेजुङमा यस्तो घटना अर्थात दाजु बहिनीबीचको प्रेम सम्बन्धकै कारणले एकले ज्यान गुमाउनुपरेको छ भने अर्कोलाई प्रहरीको खोरमा पु¥याएको छ ।



जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आइतबार पत्रकार सम्मेलन गरी जिल्लाको आठराई त्रिबेणी गाउँपालिका–२ फुलबारीकी १९ वर्षीया मन्दिरा अधिकारी बेपत्ता भएको २६ दिनपछि घटनाका विषयमा हालसम्मको प्रगति सार्वजनिक गरेको छ । प्रहरीले बेपत्ता प्रकरणका विषयमा जानकारी गराएअनुसार घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका सोही गाउँपालिका–३ हाङ्पाङका २७ वर्षीय रमेश अधिकारीले आफैंले मन्दिराको हत्या गरी तमोर नदीमा फालेको स्वीकारेका छन् ।
गएको मङ्सिर १७ गते साँझपछि घरबाट एकाएक बेपत्ता बनेकी मन्दिरालाई सोही दिन फुलबारी पुछार नाङ्खोल्याङको सेसम्बु जोड्ने खडकुडे झोलुङ्गे पुल नजिक हत्या गरेर नदीमा सव फालेको भनी रमेशले प्रहरीसमक्ष स्वीकारेका छन् । गत साताको बुधबार पक्राउ परेका रमेशले बहिनी मन्दिरासँग तीन वर्ष अघिदेखि प्रेम सम्बन्ध बसेको र अन्त्यमा एउटै थर र गोत्रका दाजुबहिनी भएका कारण बैबाहिक सम्बन्ध सम्भव नभएपछि रमेशले हत्या गरेको पाइएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।


मन्दिराका हत्या गरी नदीमा फालेको स्वीकार गरेका रमेशलाई सार्वजनिक गरिँदै ।


मन्दिराको आफैंले हत्या गरी बेपत्ता बनाएको स्वीकारेका रमेशले दिएको बयानअनुसार थप अनुसन्धानलाई अघि बढाउने क्रममा घटनालाई पुस्ट्याईं गर्ने केही प्रमाणहरु समेत फेला पार्न प्रहरी सफल भएको प्रनाउ फुयाँलले बताउनुभयो । फुयाँलका अनुसार घटनास्थलमा मन्दिराले लगाएको हवाई चप्पल, आउटर, कानमा लगाउने टप, केश चिम्टी लगायतका सामग्री फेला परेको र सो सामग्रीसमेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।


जिल्ला प्रहरी कार्यालयका अनुसार अभियुक्त रमेश पीडित मन्दिराकै घरमा डेरा बसी तीन वर्ष अघिदेखि फुलबारीस्थित स्थानीय गुप्तेश्वर माध्यमिक विद्यालयमा निमावि तहअन्तर्गत करार दरबन्दीमा शिक्षण पेशामा आवद्ध रहेका रहेका थिए । सोही समयमा रमेश र नाताले बहिनी पर्ने कक्षा १२ मा अध्ययनरत मन्दिरासँग प्रेम सम्बन्ध बसेको थियो । स्थायी शिक्षक दरबन्दी समायोजन पछि गत चैत महिनाबाट गुप्तेश्वर मावि छोडेका रमेश हाल हाङ्पाङको सरस्वती माध्यमिक विद्यालयमा करार शिक्षककै रुपमा कार्यरत रहेका थिए ।


तीन वर्षसम्म मन्दिराको घरमा डेरा बस्दा बहिनीसँगको अस्वाभाविक प्रेम सम्बन्धसँगै शारीरिक सम्पर्क समेत राख्दै आएका रमेशले सो सम्बन्ध पर्दाफास हुने त्रासले मन्दिराको हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । यस्तै रमेशले बहिनीको हत्या गरेको एक सातापछि मङ्सिर २५ गते पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेका दाहाल थरकी महिलासँग विवाह समेत गरेका प्रनाउ फुयाँलले जानकारी दिनुभयो । हाल मन्दिराको हत्या गरी नदीमा फालेको भनिए पनि शव नभेटिएकाले रमेश उपर व्यक्ति बेपत्ता बनाएको कसुरमा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान गर्दै आएको फयाँलले बताउनुभयो । उहाँका अनुसार अहिले प्रहरी, आफन्त र स्थानीय समेत भएर शवको खोजी कार्य भइरहेको छ भने गोताखोर (विशेषज्ञ टोली) झिकाएर शव खोज्नका लागि पहल भइरहेको पनि प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । प्रजिअ निरौलाका अनुसार गोताखोर प्रयोगका लागि आइतबार नै गृह मन्त्रालयमा पत्रचार गरी अनुरोध गरिएको छ ।

यता बेपत्ता मन्दिराका आफन्तले घटनाको तथ्य सुरक्षित गर्नुमा कुनै कमी नहोस् भन्दै खबरदारी (सचेत) गरेका छन् । पीडित मन्दिराकी बाबु नन्दकुमार अधिकारी, काका चन्द्रप्रसाद अधिकारी लगायतका आफन्तले सदरमुकाम फुङ्लिङमा पुगेर मानवअधिकारकर्मी, सञ्चारकर्मी, प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधि समेतलाई घटनाको तथ्यलाई जीवित राख्न र अपराधीलाई कानुनी कारबाहीमा कुनै कमी हुन नदिनभन्दै खबरदारी स्वरुप आग्रह गरेका छन् । आफ्नो साहिँली छोरी मन्दिराको हत्या गरी तमोरमा फालेको भनेर पक्राउ परेका अभियुक्तले स्वीकारेको हुँदा कुनै दबाब वा अन्य कारणले अपराधी उम्कनसक्ने आशङ्का लागेका कारण घटनाबारे सचेत गराउन आपूmहरु सदरमुकामसम्म आएको पीडित नन्दकुमारले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्