वनरक्षक शाहीको सम्झनामा स्मृतिसभा आयोजना

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङमा निजामति कार्मचारीको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमितिले शहीद गणेशबहादुर शाहीको सम्झानामा बिहीबार स्मृतिसभा आयोजना गरेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङमा हत्या गरिएका वनरक्षक शाहीको सम्झनामा आधिकारिक ट्रेड युनियनले तेस्रो वार्षिक स्मृतिसभा आयोजना गरेको हो ।


सदरमुकाम फुङ्लिङस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको स्मृतिसभामा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलासहित कार्यक्रममा सहभागीले स्वर्गीय शाहीको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । स्मृतिसभामा मन्तव्य राख्दै प्रजिअ निरौलाले शाहीको सम्झानामा थप रचनात्मक कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सम्भव भएसम्म शाहीको शालिक निर्माण गर्नतर्फ योजना बनाउनुपर्ने र उक्त कार्यका लागि आफ्नो ठाउँबाट सहयोग गर्ने बताउनुभयो ।


यता निजामति कर्मचारीहरुका आधिकारिक ट्रेड युनियनसहित विभिन्न सङ्घ÷सङ्गठनका नेतृत्वहरुले भने शाहीलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने माग गरेका छन् । घटनापछि कर्मचारीहरुकै दबाब तथा पहलले तत्कालीन अवस्थामा सरकारले क्षतिपूर्ति दिलाउने कार्य र वनरक्षक शहीद घोषणा मात्र गरेकाले राष्ट्रिय शहीद नै घोषणा गर्नुपर्ने कर्मचारीका नेतृत्वले बताएका हुन् । यस्तै अझै कार्यक्षेत्रमा कार्यरत रहेका बेला कतिपय क्षेत्रमा कर्मचारीहरुमाथि अनावश्यक दबाब दिने र त्रासमा पार्ने कार्य हुँदै आएकाले कार्यक्षेत्र सुरक्षित बनाउनुपर्ने पनि माग उनीहरुले गरेका छन् ।


तत्कालीका इलाका वन कार्यालय खोक्लिङमा कार्यरत जाजरकोट जिल्ला दसेरा गाविस स्थायी ठेगाना भएका शाहीको २०७३ साल पुस १७ गते कार्यक्षेत्रमा कार्यरत रहेकै अवस्थामा खोक्लिङमा विभत्स हत्या गरिएको थियो । स्मृतिसभासँगै शुक्रबार सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच अन्तर–सरकार हाजिरी जवाफ प्रतियोगिता तथा शनिबार ट्रेड युनियन अधिकार तथा सङ्घीयतामा निजामति कर्मचारी विषयक अन्तक्र्रिया आयोजना हुने निजामति कार्मचारीको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति ताप्लेजुङका अध्यक्ष रामचन्द्र नेपालले जानकारी दिनुभयो ।

प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्