सडक योजना सरकारको प्राथमिकतामा : मन्त्री नेम्बाङ

ताप्लेजुङ, पुस २३ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले तमोर करिडोरसहित मदनभण्डारी राजमार्ग, ओलाङ्चुङगोला उत्तर–दक्षिण लोकमार्ग र पाथीभरा सडक योजना सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । निर्माणाधीन योजनाहरुको हालको अवस्थाबारे अवलोकन साथै निरीक्षण गर्नुहुँदै मन्त्री नेम्बाङले उक्त योजनाहरुप्रति सरकारले दिएको प्राथमिकतामा कमी हुन नदिने बताउनुभएको छ ।


बुधबार बिहान ताप्लेजुङ आइपुग्नुभएका मन्त्री नेम्बाङले प्रदेश १ अर्थात पूर्वी नेपालकै महत्वपूर्ण योजनाका रुपमा रहेको तमोर करिडोर र उत्तरदक्षिण लोकमार्गप्रति सरकारले गम्भीर ध्यान दिँदै आएको बताउनुभयो । यस्तै धार्मिक पर्यटकीय मार्गको रुपमा रहेको पाथीभरा सडकलाई पनि सरकारले उत्तिकै ध्यान दिइरहेको उहाँले बताउनुभयो ।


नेपालको दुई छिमेकी देश भारत र चीनसँग त्रिदेशीय सम्बन्ध स्थापित गर्ने सडक योजना तमोर करिडोर र ओलाङ्चुङगोला उत्तर–दक्षिण लोकमार्ग भएकाले पनि सरकारले उक्त योजनाहरुप्रति विशेष ध्यान दिँदै आएको उहाँको भनाइ छ । यी योजनाहरु छिटो सम्पन्न गरेर उत्तरमा चीन र दक्षिण पूर्वमा भारतसँग सडक सञ्जाल जोडी नाकाहरु सञ्चालनमा ल्याउँदा धेरै फाइदा हुने मन्त्री नेम्बाङ बताउनुहुन्छ ।


यता वर्षमा लाखौं तीर्थयात्रीहरु पुग्ने प्रसिद्ध तीर्थस्थल पाथीभरा सडकलाई स्तरोन्नतिका लागि सरकारले विशेष चासो दिने उहाँको भनाइ थियो । आजभन्दा चार वर्षअघि नै पाथीभरा सडक कालोपत्रे योजनाका १० करोड रुपियाँ बजेट विनियोजन भएको भए पनि अहिलेसम्म सडकको प्रगति नभएको देख्दा आपूmलाई दुःख लागेको समेत मन्त्री नेम्बाङले बताउनुभयो । उहाँले अब तमोर करिडोर, उत्तरदक्षिण लोकमार्ग र पाथीभरा सडकको निर्माण प्रगति गर्ने विषयमा मन्त्रालयको तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो ।

मन्त्री नेम्बाङले पाथीभरा सडकको गुप्ते–देउराली खण्ड, उत्तर–दक्षिण लोकमार्गको सुकेटार क्षेत्र र तमोर करिडोरको दोभान–बहानन्दे खण्ड अन्तर्गत हालको सडक अवस्थाको अवलोकन साथै निरीक्षण गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्