पाथीभरामा ‘रवीन्द्र स्मृति पार्क’ बन्ने

प्रयास लिम्बू
ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको पाथीभरा क्षेत्रमा रवीन्द्र स्मृति पार्क निर्माण गरिने भएको छ । हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सम्झानामा ‘रवीन्द्र स्मृति पार्क’ निर्माण गरिने भएको हो ।
आजभन्दा १० महिनाअघि अर्थात २०७५ साल फागुन १५ गते पाथीभरा क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।

मन्त्री अधिकारीको सम्मान तथा सम्झानामा हाल पाथीभरा क्षेत्रमै स्मृति पार्क बनाउनेगरी तयारी थालिएको हो । रवीन्द्र स्मृति पार्क निर्माणको कार्यमा खर्च गर्नेगरी चालू आर्थिक वर्ष २०७६÷७७ मा सङ्घीय सरकारले ५० लाख र प्रदेश १ सरकारबाट २० लाख रुपियाँ रकम पनि विनियोजन भएको छ ।
स्मृति पार्कका लागि सङ्घीय सरकारद्वारा विनियोजित रकम फुङ्लिङ नगरपालिकामा प्राप्त भइसकेको नगर प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो । नगरप्रमुख प्याकुरेलका अनुसार फुङ्लिङ नगरपालिकामार्फत कार्यान्वयन गर्नेगरी बजेट नगरपालिकालाई प्राप्त भएको हो । प्रदेश सरकारले विनियोजन गरेको रकम पनि नगरपालिकाले नै कार्यान्वयन गर्नेगरी योजना मिलाउनलाई पहल भइरहेको नगरप्रमुख प्याकुरेलले बताउनुभयो । दुवै सरकारद्वारा विनियोजित रकम एकमुष्ट ७० लाख रुपियाँले गर्न सकिने कामको योजना बनाएर कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।
रवीन्द्र स्मृति पार्क निर्माण गर्न प्रस्ताव गरिएको पाथीभरा क्षेत्रअन्तर्गत छातेढुङ्गा नजिक गोरुजुरे डाँडाको बिहीबार स्थलगत अवलोकन समेत गरिएको छ । नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व सांसद तिलकुमार मेन्याङ्बो, जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशराज तिम्सिना लगायत सरोकारवाला सङ्घ÷संस्थाका प्रमुख सहितको टोलीले पार्क निर्माण गर्न प्रस्ताव गरिएको क्षेत्रको अवलोकन गरेको हो ।


स्थलगत अवलोकनपछि पार्कका लागि प्रस्तावित क्षेत्र गोरुजुरे डाँडा अत्यन्तै उपयुक्त ठाउँ भएको पूर्वसांसद मेन्याङ्बोले बताउनुभयो । अब पार्कका लागि चाँडो गुरुयोजनासहित डीपीआर बनाएर सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन गर्न फुङ्लिङ नगरपालिकालाई उहाँले सुझाव पनि दिनुभयो । यस्तै जिल्ला समन्वय समिति प्रमुख मादेनले पनि पार्कका लागि बृहत गुरुयोजना बनाएर काम गर्नमा ढिलाई गर्नु नहुने बताउनुभयो ।
यता पार्क निर्माण गर्न प्रस्ताव गरिएको क्षेत्र अर्थात जग्गाको स्थलगत अवलोकन रवीन्द्र स्मृति पार्क निर्माणको सुरुवात भएको नगरप्रमुख प्याकुरेलले बताउनुभयो । उहाँले अब तत्काल सबै सरोकारवालाको बैठक बसेर कस्तो संरचनामा पार्क निर्माण गर्न सकिन्छ, सो बारे निर्णय गरेर प्रक्रिया अघि बढाउने बताउनुभयो । विज्ञ तथा दक्ष इन्जिनियरमार्फत चाँडै डीपीआर बनाएर विनियोजित बजेट चालू आर्थिक वर्षभित्रै खर्च गर्नेगरी पार्क निर्माणको कामलाई तीब्रता दिइने उहाँको भनाइ छ ।
स्मृति पार्क बनाउन लागिएको पाथीभरा क्षेत्रको गोरुजुरे डाँडा फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको मयाम पातल सामुदायिक वन र वडा नं. ११ फावाखोलामा पर्ने पाथीभरा सिम्बु सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने हुँदा दुवै सामुदायिक वनबाट सहमति लिएर निर्माणको कार्य थालिने नगरपालिकाले जनाएको छ । उता सामुदायिक वन नीतिमा पर्या पर्यटनको व्यवस्था रहेकाले पार्क निर्माण गर्नका लागि सामुदायिक वनले जग्गा उपलब्ध गराउन सक्ने डिभिजन वन कार्यालय ताप्लेजुङका डिभिजनल वन अधिकृत श्रीमोहनलाल कर्णले जानकारी दिनुभयो ।
डिभिजनल वन अधिकृत कर्णका अनुसार उक्त दुवै वन समूहसँग समन्वय भइसकेको र पार्क निर्माणका लागि ती समूहहरुले आफ्नो कार्ययोजना भने परिवर्तन गर्नुपर्ने अर्थात पार्क बनाउने कार्यक्रम कार्ययोजनामा थप्नुपर्ने हुन्छ । सो कार्ययोजना बनाउनका लागि सामुदायिक वनहरुलाई डिभिजन वन कार्यालयले सहजीकरण गर्ने पनि उहाँले बताउनुभयो । करिव १५ रोपनी क्षेत्रफलभित्र विभिन्न संरचनासहित रवीन्द्र स्मृति पार्क निर्माण हुने फुङ्लिङ नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961