छाउपडी प्रथा : १० वर्षमा १४ किशोरीको ज्यान गयो

काठमाडौं । गत मंसिर तेस्रो साता महिनावारी हुँदा छाउगोठमा बसेकै बेला अछाम, साँफेबगर नगरपालिका–३ सिद्धेश्वर डिक्रेनीकी २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भयो । मेल्लेख गाउँपालिका–७ नन्देगडा, लेकगाउँ आइतबार साँझ खाना खाएर एक्लै छाउगोठमा सुतेकी उनी बिहान मृत अवस्थामा फेला परिन् ।

बिहान सात बजेसम्म नउठेपछि जेठानीले पार्वतीको नाम लिएर धेरै पटक बोलाइन् । तर गोठबाट कुनै प्रतिक्रिया आएन । शंका लागी जेठाजु छत्र रावतले गोठको ढोका फोरेर हेर्दा उनी घोप्टो परेर सुतेको अवस्थामा मृत फेला परेकी थिइन् ।

घरभन्दा सय मिटर टाढा रहेको छाउगोठमा उनको मृत्यु हुनुको यकिन कारण पत्ता नलागे पनि रातको समयमा आगो बालेर सुतेकाले निसासिएर मृत्यु भएको अनुमान गरिएको छ। महिनावारी हुँदा घरभन्दा टाढा एकान्तमा बनाइएको छाउगोठमा एक्लै बस्नुपर्दा अकालमै मृत्यु हुने पार्वती मात्र होइनन्, उनीभन्दा पहिले पनि अछाममा कयौं किशोरी र महिलाले छाउगोठमा मृत्युवरण गर्नुपरेका कहालीलाग्दा कथा छन् ।

अरूतिर महिनावारी हुँदा घरभित्रै अलग बस्ने चलन भए पनि सुदूरपश्चिमका अछामलगायत दुर्गम बस्तीका महिलाहरू एकान्तमा बनाइएको छाउगोठमा बस्ने कुप्रथा छ । यी छाउगोठ महिनावारी भएका बेला वास बस्ने महिनाका लागि ज्यानमारा धरापसरह थिए । विषालु सर्प हुने, फोहोरले विभिन्न रोगको संक्रमण भएर र न्यानो ओढ्ने लुगा नहुँदा जाडोले र आगोको धुवाले निसासिएर कयौं महिलाको अकालमै मृत्यु भएको स्थानीय बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय तथा महिला विकास शाखा अछामका अनुसार अछाममा १० वर्षयता छाउगोठमा किशोरी तथा महिला गरी १४ जनाको मृत्यु भइसकेको छ । छोरी, बुहारी, दिदी–बहिनीको महिनावारी भएको बेला गोठमै मृत्यु हुँदासमेत अधिकतर महिलाहरू गोठमै सुत्ने गरेका थिए । परिवारको सदस्य गोठमै गुमाउनुपरेको पीडा बोक्दै किशोरी तथा महिलाहरू आफ्नोसमेत ज्यान जोखिममा राखेर गोठमै बसिरहेका समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस्